Pages

Jan 1, 2017

आर्थिक विकासमा युवा साझेदार

चुनौती र समस्याको बीचबाट अवसरको पहिचान हुन्छ । त्यही अवसरको पहिचान गरेर चुनौती र समस्याको लडाइँ लडेपछि सफलताको सुगन्ध प्राप्त हुन्छ । नेपालमा पनि अवसर नरहेको भए आज मीनबहादुर गुरुङदेखि विनोद चौधरीको नामको पछाडि ‘सफलता’ जोडिँदैनथ्यो ।
नेपालमा राजनीतिक, आर्थिकदेखि सामाजिक प्राविधिकसम्म समस्या नरहेको त अवश्य होइन, तर यही समस्याभित्रै चुनौतीको सामना गर्दै अवसरको पहिचान गर्न सक्नेहरू आज पनि नेपाली बजारमा प्रशस्त छन् । हुन त एक यस्तो समूह पनि छ नेपालमा जो चुनौती र समस्यालाई बहाना बनाएर दैनिक पलायन हुने १ हजार ५ सय युवा जमातभित्र आफूलाई केन्द्रित गर्छन् र उतैको संसारमा पलायन हुन्छन् ।

नियम कानून त राम्रो कागजमा राम्रै कलमले लेखिएको हुनुपर्छ । नियमकै कुरा गर्ने हो भने कम्पनी ऐन होस् या उद्योग संवद्र्धन नीति होस् प्रस्ताव गरिएको १५ देखि २१ दिनसम्ममा प्रमाणपत्र प्रदान गरिने कुरा स्पष्ट दर्शाइएको छ । यथार्थमा जुन निकै भिन्न छ । यहाँ कलेज खोल्न होस् या कुनै रूटमा गाडी चलाउन, आइपर्ने समस्याको व्यथा भिन्नै छ । यसबाहेक, पूँजीको अभाव देखाउने युवा जमात आफ्नो साहस र आँटतर्फ औंला कहिले ठड्याउँदैन । एउटा कुरा के स्पष्ट छ भने खाडीमुलुक जान पनि यहाँ ५० हजार लाग्छ भने अमेरिका अष्ट्रेलियाजस्तो मुलुकमा पढ्न जान पनि लाखौं रकम लाग्छ । उक्त पूँजी जसोतसो व्यवस्था गर्ने युवाजमात आफै पूँजीको अभाव भन्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पलायन हुन्छन् ।
संसारभरिकै तथ्याङ्क हेर्ने हो भने पनि ९० प्रतिशत रोजगारीको अवसर उद्यमशीलताले प्रदान गर्छ । कुरा धीरुभाइ अम्बानीको होस् या जुकर बर्गको, यहाँ कसैको समस्या या चुनौती नभई सफलता प्राप्त भएको थिएन । यहाँ हामी उदाहरण ‘सफलता’ चुमिसकेकाहरूको मात्र लिन्छौं, अनि ‘सफलता’को लक्ष्यको उदाहरण त पर होस्, उनीहरूको पहिचानसम्म पनि गर्न सक्दैनौं । उनीहरूलाई उत्साह प्रदान गर्न त धेरै लामो दूरीमा रहेको हुन्छ । नेपाली सिनेमा हलमा विज्ञापन दिने नयाँ सोच होस् या आफ्नै स्वदेशी कफीको क्याफे सुचारु गर्नेजस्तो सोचाइ हाम्रै नेपाली सिमानाभित्र सुचारु गरिएको उदाहरण त प्रशस्त देख्न सकिन्छ । आज त्यहीं आँटको फल स्वरूप गगन प्रधान र आनन्द गुरुङको पाइलाको खुड्किलो अलि लामै कदम लिएको स्पष्ट देख्न सकिन्छ ।

सामाजिक परिवर्तनको निमित्त त्रिविबाट एमबीए सकेका समूहले शुरू गरेको ‘लेट्स फण्ड’बाट युवाहरूले मानव तस्करबाट पीडितलाई रोजगारीको अवसर प्रदान गरेको उदाहरणदेखि विभिन्न पुरस्कारबाट सम्मानित ‘सरल समाधान’सम्म गरिएको प्रयासलाई सजिलै त्यागेर ‘युवाहरू नेपालमा केही गर्दैनन्’ पनि भनिहाल्न मिल्दैन । अहिले आएर सामाजिक संस्था र गैरसरकारी संस्थाहरू पनि रोजगार सृजनादेखि उद्यमशीलता प्रवद्र्धनका लागि उत्सुक देखिन्छन्, यद्यपि मिडियाबाट नै प्रोत्साहित गरिने उद्यमशीलताको छाया पनि बाक्लिँदै गएको अनुभव गर्न सकिन्छ ।
विगत केही दिनबाट शुरू भएको चिजबिज डटकम होस् या इजी किराना, युवा समूहमा उद्यमशीलताको जोश त्यसै झल्कन्छ । यहाँ युवाहरू नयाँ शैलीबाट केही गर्ने जोशसहित अघि बढेको स्पष्ट देख्न सकिन्छ । होला, एउटा जमात सधैं राजनीतिमा होला, अर्को सधंै विदेशिने सपना देख्लान्, तर यहाँ त्यस्ता जमात पनि छन्, जो सम्पूर्ण जोश र जाँगरका साथ लागिपरिरहेका छन् । मैदान फुट्सलमा युवासमूहको आँट प्रशंसनीय मात्रै रहेन, धेरै युवाहरूलाइ प्रोत्साहित पनि गरेकै हो । यसबाहेक गाउँमा आफै केही गर्छु भनी लागिपरेकाको सङ्ख्या कतै सीमित छैन ।

डा.बाबुराम भट्टराईले युवालाई प्रोत्साहन गर्ने परिकल्पना गरे तापनि उक्त योजना आखिर कल्पनामै सीमित रह्यो, र कुनै हौसला प्रदान हुन सकेन । हुन त युवा मन्त्रालय पनि छ नेपालमा, तर के गर्छ मन्त्री आफैलाई थाहा छ कि छैन भन्ने प्रश्न जायज नै होला । आखिर यहाँ त हिजोको सञ्चारमन्त्री आज अर्थ मन्त्रालय हेर्ने परिपाटी छ । अनि कसलाई कुन क्षेत्रमा दक्षता हो ? शेयरबजार घट्दा ‘क्षणिक गिरावट’ भनी टिप्पणी गर्न सक्ने मन्त्रीले युवाहरूलाई आर्थिक रूपमा सक्षम कसरी बनाउने भन्ने विषयप्रति पनि ध्यान दिन सकेको भए शायद आगामी दिनमा थप उत्साह मिल्थ्यो कि ? अझ, विकासको सपना जापानदेखि स्वीट्जरल्याण्डसम्म देख्ने हाम्रा नेताहरूले ‘बन्द नगर्ने’ भनेर दृढता जनाउन मात्र सके भने पनि लगानी गर्न थप ऊर्जा मिल्ने थियो । आखिर नेपालीसँग पूँजी नभएको त हैन भन्ने पुष्टि त हर एक शेयर आवेदन खुल्दा उल्लेखीय सहभागिताबाट नै हुन्छ । फेरि, विदेशिने युवा जमात त जसोतसो पैसाको जोहो गरेर उडिरहेकै हुन्छन् । यस अर्थमा पैसाकै अभाव शायद नेपालमा छैन । अभाव त केवल जोशको, शक्तिको, ऊर्जाको हो नेपालमा ।
सरल समाधानका निर्देशक वसन्तराज न्यौपाने र प्रबन्धक रूपक अर्याल आफै सम्पूर्ण सङ्कटको सामना गरेर अघि बढेको र यस कार्यमा असफलता भएमा आफ्नै लगानी डुब्ने डर व्यक्त गर्छन् । लेट्स फुडकी सदीक्षा कार्कीदेखि इजी किरानाका नारायण भण्डारी कोही पनि आफूलाई राज्यका तर्फबाट कुनै सहयोग नभएको अभिव्यक्ति पस्कँदा हाम्रो राजनीतिले युवासमूहलाई कुन दृष्टिले हेर्छ भन्ने पुष्टि हुन्छ । हुन त नेपालमा वित्तीय संस्थादेखि थुप्रै अन्य संस्था छन्, जसले यस्ता युवालाई हौसला प्रदान गर्न सक्ने क्षमता राख्छन् । तर, यहाँ यी युवाले आफ्नो शैक्षिक प्रमाण नै धितो राख्दा पनि उद्यमशीलताका लागि कुनै प्रकारको सहयोग नमिल्ने स्पष्ट देखिन्छ ।
 
युवा त त्यस्तो शक्ति हो जसले अरब स्प्रिङको आँधी ल्याएको थियो, जसले नेपालभित्रै आमूल परिवर्तन ल्याउन आफ्नो काँध थापेको थियो । नेपालकै तथ्याङ्क हेर्दा पनि १५–२४ वर्ष समूहको जनसङ्ख्या ५२ लाख ९० हजार ५१ रहेको नेपालमा कुल जनसङ्ख्याको २० प्रतिशत अंश ओगट्छ । अझ नेपालको परिभाषाअनुसार ‘युवा’ भनेर चिनिने १६–४० वर्ष समूहको तथ्याङ्क हेर्दा ४० प्रतिशत हुन जान्छ । जापान, कोरिया, जर्मनीले आफ्नो कालखण्डमा यस्तै युवाजमात बढिरहेको मौका छोपेर विकासको लहर ल्याएको थियो भने साउदी अरेबिया, कतारले पनि यस्तै कालखण्डको प्रयोग गरिरहेको छ । नेपालमा भने, यस्तो सुनौलो समयमा युवालाई प्रोत्साहनभन्दा पनि निरुत्साहित पार्ने पाइला चालिँदै छ, जसको प्रमाण दैनिक विदेशिने युवाबाट स्पष्ट हुन्छ ।
अझ नेपालको अर्को तथ्याङ्क हेर्ने हो भने ०–१५ वर्षको जनसङ्ख्या मात्र ९९ लाख ७ सय ७१ रहेको छ, जुन कुल जनसङ्ख्याको ३७ प्रतिशत हुन जान्छ । यहाँबाट आगामी दिनहरूमा पनि युवा जोश नेपालमै रहने स्पष्ट देखिन्छ । यद्यपि यो जोशलाई कतातर्फ लक्षित गर्ने भन्ने विषय गम्भीर हुन पुग्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै भनाइ उद्धृत गर्ने हो भने पनि ‘पानी र जवानी सधैं एकै ठाउँ नरहने’ भनी व्यक्त गरेको भनाइबाट पनि नेपालजस्तो मुलुकले युवालाई कसरी हेर्ने र कतातर्फ लैजाने निर्धारण गर्न आवश्यक छ ।

भूकम्पको समयमा नेपालका युवाले गरेको कार्यलाई राज्यले कहिल्यै सम्मान गर्न सकेन । कारपुलदेखि मधेशस्पिक्ससम्म गरिएको अभियानलाई राज्यले सम्झने फुर्सद त शायद तलब वृद्धि, राज्यको ढुकुटीको दुरुपयोग गर्ने समयले फुर्सद नै दिएन । सपना आर्थिक विकासको देख्ने हाम्रो नेताहरूले ‘कसरी गर्ने ?’ भन्ने कार्ययोजना त अवश्य बुनेका छैनन् । मेट्रोदेखि सुरुङमार्गको परिकल्पना गर्ने नेताहरूलाई भारतमा नेपाली युवाहरूले बनाएको सुरुङ मार्ग, खाडीमा वल्र्डकप खेलाउने स्टेडियमबारे ज्ञान त हुनुपर्ने हो । अहिले नेपालमै रहेर केही गर्ने सोच बनाएको युवाहरूलाई राज्यले प्रोत्साहन गर्न सकेन भने भोलि विदेशिने यिनै युवा हुने निश्चित छ । ट्याक्सी चलाउन अनुमति त दिन्छ, तर सहुलियत खै ? आखिर उनीहरू विदेश मोह त्यागेर नेपालमै बस्ने निर्णय गरेका युवा त हुन्, अनि उनीहरूलाई राज्यले एक नजर पनि दिन सकेको छ र ? उद्यमशीलताको आवश्यकता अहिले देशलाई निकै छ, तर यसलाई ध्यानपूर्ण दृष्टिले हेर्न उत्तिकै आवश्यक छ । अन्यथा केही गर्छु भनी नेपाल नत्यागेका यी युवा बाहिरिएमा त्यसको जिम्मेवार राज्यले लिन सक्नुपर्छ ।
रेग्मी एक ब्लगर र स्वतन्त्र लेखक हुन् ।


मंसिर २२ गते को आर्थिक अभियानमा प्रकाशित!
http://www.abhiyan.com.np/new/Articles/view/89363

No comments:

Post a Comment

You are free to comment....But i request you to write down your name in the end so that i can recognize you...