युवा र सामाजिक सञ्जाल

Jun 13, 2016
हिमालयन जाबामा म कसैको प्रतीक्षामा रहँदा, मेरोअगाडि एउटा मेरै उमेरको पुरुष पनि कसैलाई पर्खिरहेको थियो । चिहाएर उसको फोन हेर्दा, फेसबुक चलाएको देखेँ । एलिना बेकरी क्याफेमा बस्दा अगाडि एउटा समूहको ‘गेट टुगेदर’ रहेछ । आठमध्ये चारजना आफ्नो फोनतर्फ टाउको झुकाएर बसिरहेका थिए । दुईजनाको फोनमा देख्थेँ, उनीहरू फेसबुक चलाइरहेका थिए, अरू दुईजना पनि पक्कै कि त फेसबुक कि त इन्स्टाग्राममा फोटो हाल्दै थिए होला । मेरो साथी आइपुग्यो अनि म पनि त्यही फोन चलाउन व्यस्त भएँ ।




नेपालमा १६–४० वर्ष उमेर समूहलाई युवा भनिन्छ, जसको कुल संख्या १ करोडभन्दा बढी छ । यो उमेर समूहले नेपालको कुल जनसंख्याको ४० दशमलव ५ प्रतिशत प्रतिनिधित्व गर्छ । सन् १९९० को दशकतिर इमेल र अतिआवश्यक प्रयोजनका लागि मात्र प्रयोग हुने इन्टरनेटले सन् २००० पछि युवा जमातमा आकर्षण जमाउन सफल भएको थियो । सन् २००४ पछि सामाजिक सञ्जाललाई इन्टरनेटमा ल्याइएको थियो । नेपाल संसारबाट अभिन्न बस्न सकेन र सामाजिक सञ्जालमा नेपालीको ध्यानबराबर मात्रामा खिचियो । 


तीन वर्षअगाडिको तथ्यांकअनुसार नेपालमा ८ लाख ५० हजार फेसबुक प्रयोगकर्ता देखिएका थिए, जुन अहिले आएर ४५ लाखको हाराहारीमा छ । यही तथ्यांकबाट सामाजिक सञ्जालप्रतिको युवा जमातको लगाव स्पष्ट देख्न सकिन्छ । मूलतः १८–२४ उमेर समूहले ४९ दशमलव ५ प्रतिशत प्रतिनिधित्व गर्छ भने २५–३४ सम्मकाले २८ दशमलव ५ प्रतिशत प्रतिनिधित्व गर्छ । फेसबुक एडले दिएको यस तथ्यांकअनुसार नेपालमा युवा समूहको लगाव प्रस्ट बुझ्न सकिन्छ । हुन पनि यदि युवाहरूलाई बढी समय केमा खर्चिन्छौ ? भनि अध्ययन गर्ने हो भने पढाइ, टिभी, रेडियो, पत्रपत्रिकाभन्दा पनि उनीहरूको उत्तर सामाजिक सञ्जाल नै हुन्छ । समय बर्बादी, भौतिकता र गोपनीयताको अभावजस्ता विषयमा यसको नकारात्मक पक्ष नकेलाईएको चाहिँ अवश्य होइन । सायद त्यही भएर सामाजिक सञ्जालको कारण भएको सम्बन्धविच्छेदको संख्या पनि बढ्दो छ । यद्यपि, हाल यो बढ्दो चासोको विषय रही आएको छ । हुन त अरू माध्यम नभएको चाहिँ पक्कै होइन यद्यपि युवाको चासो रहेको हुनाले यो प्रख्यात भएको बुझ्दा फरक नपर्ला । सायद यही भएर होला व्यावसायिक संस्था पनि यस क्षेत्रतर्फ आकर्षित भएको ।

झन् हालको अवस्था हेर्ने हो भने त भूकम्पको समयमा भारतीय मिडियालाई भारत फर्काउने अभियान, संविधानसभाको समर्थन नगरेको भारतलाई पछाडि हटाउने अभियान, भारतीय राजदूतावासलाई पेट्रोल दिने अभियान, त्यसैगरी मानव साङ्लो बनाउने मधेसको अभियान, काठमाडौं मधेससँग छ भनी चलाइएका अभियानले निकै प्रभाव पारेकै हो । सीएनएन हिरो बनाउनेदेखि नेपालको मानव झन्डा बनाउनसम्म यसै सामाजिक सञ्जालको ठूलो भूमिका भएको बिर्सिन हुँदैन । अन्तर्राष्ट्रिय जगत्मै पनि यसै सामाजिक सञ्जालको गोरेटो खन्दै बोकोहरामलाई दबाब दिने कार्यक्रम गरिएको थियो । यसै सामाजिक सञ्जालले नै हो स्पेनमा क्रान्ति ल्याएको अनि मध्यएसियामा अरब स्प्रिंगको आँधी ल्याएको, जसमा युवाकै हात थियो । यस अर्थमा युवाको नयाँ शक्ति नै सामाजिक सञ्जाल होभन्दा फरक नपर्ला ।

भारतीय संस्था इन्डियाबिज न्युज एन्ड रिसर्च संस्थाले गरेको अनुसन्धानअनुसार युवाहरू आफू व्यक्त हुन चाहन्छन् अनि आफ्नो निर्णय आफैं लिने पक्षमा देखिन्छन् । सायद यही कारणले गर्दा पनि सामाजिक सञ्जालले युवालाई आफूले आफैंलाई व्यक्त गर्ने ठाउँ भनी रुचाएका होलान् । यद्यपि, युवा समूहले यसको प्रयोग कसरी गर्दै छ ? त्यसमा स्पष्ट हुन आवश्यक पनि उत्तिकै छ । केको प्रयोजनका लागि हामी सामाजिक सञ्जालको प्रयोग गर्दै छौं ? मात्र फोटो हालेर लाइक बटुल्न कि अन्य कारण पनि छन् ?  

भन्ने कुरामा स्पष्ट हुनु आवश्यक छ । छात्रवृत्तिको अवसरदेखि विभिन्न अन्तर्राष्ट्रिय सेमिनार, कन्फरेन्सको अवसर हामी सामाजिक सञ्जालबाट प्राप्त गर्न सक्छौं । कुरा आउँछ, हामी सही प्रयोजनको लागि प्रयोग गर्दै छौं कि छैनौं ? सामाजिक सञ्जाल हो, सामाजिक हुन आवश्यक छ तर प्रोफाइल पिक्चर परिवर्तन गर्ने र कतिओटा लाइक भो भनेर हेर्न मात्र एउटा युवा समूहले यसको प्रयोग गर्छ । त्यही युवा समूहले मेरो रिट्वीट कतिओटा पुग्यो अनि फ्लोवर कति छन् भन्ने विषयमा बढी चासो राख्छ ।

सामाजिक सञ्जाललाई हामीले प्रयोग गरेनांैँ भने सामजिक सञ्जालले हामीलाई प्रयोग गर्छ । यो कुरा स्पस्ट छ किनभने जुकरबर्गले आफैं भनेका छन्, फेसबुकको प्रयोगकर्ता नै हाम्रो बजार हो भनेर । व्यावसायिक दृष्टिले पनि लाभदायी यस सामाजिक सञ्जालको प्रयोग अझै किन गुणस्तर तरिकाले भएको छैन भनेर व्यावसायिक नजरबाट हेर्न सजिलो छ । अझ कुन उमेर समूहको बजारलाई निसाना बनाउने, कहाँको बजारलाई हेर्ने ? यी सबै कुरा नियालेर प्रचार गर्न सकिने थलो हुन्छ, सामाजिक सञ्जाल ।

संस्था, मिडिया र सेलिब्रेटीले आफ्नो पकड आमसर्वसाधारणमा कत्तिको छ भनी मूल्यांकन समेत लाइक र फलोअर्सबाट गर्ने यस युगमा सामाजिक सञ्जालबाट अलग रहनु मूर्खताबाहेक केही हँुदैन । जुकरबर्गले आफ्नै साथीहरूको समाचार थाहा पाउने थलोको परिकल्पना गरेर बनाएको यस सामाजिक सञ्जालको प्रयोग त्यसबाहेक विभिन्न प्रयोजनका लागि भइरहेको छ ।


यही सामाजिक सञ्जालबाट प्रभावित भएर भारतीय ‘डिजिटल इन्डिया’ नामक अभियानमार्फत भारतमा प्रविधिमाथि आँधी ल्याउने उद्घोष गरेका मोदीले यदि भारतमा केही गर्न सके भने त्यसको सकारात्मक प्रभाव नेपालमा पर्ने निश्चित छ । यसकारण समयमै नेपालले यसबारेमा सहज नीति ल्याउन पनि आवश्यक देखिन्छ । नेपाली सामाजमा सामाजिक सञ्जालको क्रेज बढी देखिए तापनि कतिपय ठाउँमा विभिन्न बाधाअवरोध प्रस्ट छन् । भारतमै घरमै बसीबसी अनलाइन सपिङ गर्ने प्रचलन प्रस्ट देखिएको छ । नेपालमा भने यसमा खासै विकास हुन नसकेको देखिन्छ । लगानीकर्तामा हराएको जोस भनौं या बैंकको अक्षम नीतिलाई दोष लगाऊँ, मारमा पर्ने सर्वसाधारण नै हुन् । यसबाहेक पेपलजस्तो खातामा नेपालीको सहज पहुँच नभएका कारण पनि अन्तर्राष्ट्रिय एवं राष्ट्रिय एजेन्टलाइ पैसा खुवाउन बाध्य छन्, नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ता ।

समयको गतिसँग प्रयोगकर्ता त चलि नै रहेका छन् । ब्लगदेखि लिएर युट्युबबाट पैसा कमाउन सकिने यो समयमा सरकारले पनि सहज नीति ल्याउन आवश्यक छ । अनि युवा जमातले पनि किन प्रयोग गर्दै छु, मैले प्रयोग गर्ने गरेको यो सामजिक सञ्जाल के यसैगरी नै प्रयोग गर्न बनाइएको हो ? भनी बुझ्न जरुरी छ । सामाजिक सञ्जाललाई म प्रयोग गर्दै छु कि सामाजिक सञ्जालले मलाई प्रयोग गर्दै छ भनेर बुझ्न उत्तिकै आवश्यक छ ।


जेठ २६, २०७३ को राजधानी दैनिकमा प्रकाशित! 



No comments: