अन्ततः भारू सटहीको समय पनि सकियो र
भारतका तर्फबाट कुनै प्रकारको प्रतिक्रिया पनि देखिएन । नेपाल सरकार र
राष्ट्र बैङ्कले बेलाबखत पहल गरेको देखिए तापनि भारतीय पक्षबाट डिसेम्बर
मसान्तसम्म कुनै जवाफ नआएपछि भारू सटहीको विषय थप अन्योल बनेको छ । हाल
आफूसँग भएको भारतीय मुद्रालाई नेपालीले के गर्ने भन्ने विषय बहसयुक्त रह्यो
। नेपालमा रहेको भारतीय दूतावासले नोट सटही सुविधाबारे मोडालिटी माग
गरेपछि, नेपाल पक्षबाट डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा
समिति बनाउने काम गरेकै हो । तर, भारतीय मिडियाबाट आश देखाइए पनि कुनै
प्रतिबद्धता या आश्वासनसम्म प्रदान नगरिएको स्पष्ट छ । नेपाल भारतलाई आधार
बनाएर कारोबार गर्ने व्यवसायी यसको मर्कामा परेको देखिए पनि ठूला
व्यापारीहरूले आफ्नै व्यक्तिगत पहलबाट धेरै मात्रामा रकम सटही गरिसकेको
बुझाइ छ । यस अर्थमा मर्कामा पर्ने साना व्यापारी, पर्यटक, पर्यटन
व्यवसायमा लागेकाहरू, विद्यार्थी अनि केही मात्रामा सर्वसाधारण हुन् ।
६० वर्षअगाडि फर्केर हेर्दा नेपालका
प्रायः जिल्लामा भारतीय मुद्राको प्रचलन स्पष्ट देखिन्थ्यो । २०१७ सालदेखि
प्रतिबन्ध लगाएर २०४९ मा नेपाली मुद्रालाई भारतीय मुद्रासँग १ दशमलव ६ को
दरमा सन्तुलन गरिए पनि विभिन्न समयमा विवाद र समस्या नआएको होइन । सन् २०००
मा भारत सरकारले ५ सय र हजारको नोट नेपाल निर्यातमा प्रतिबन्ध लगाएपछि
उक्त विषय दुईपक्षीय प्रधानमन्त्री वार्ताले समाधान गरेको थियो । त्यसै गरी
२०१५ सम्म नेपालमा भारतीय ५ सय र हजारको नोटमा प्रतिबन्ध गरेको नेपाल
सरकारले पनि मोदीको भ्रमणपश्चात् उक्त निर्णय फिर्ता लिएर २५ हजारसम्मका
भारतीय मुद्रा बोक्न पाउने व्यवस्था अपनाइएको थियो । यस अर्थमा भारतले
नेपालमा त्यति रकमलाई स्वीकारेको मान्दा गलत नहोला ।
राष्ट्र बैङ्ककै तथ्याङ्कअनुसार हाल ३
करोड ३६ लाख भारतीय मुद्रा नेपालका वित्तीय संस्थासँग रहेको र अन्य
व्यवसायी, विदेशी कामदार, सर्वसाधारणको तथ्याङ्क स्पष्ट छैन ।
भारतीय प्रधानमन्त्रीले नोभेम्बर ८ मा
एकाएक ल्याएको नोट प्रतिबन्धको नीतिले संसारभर उदाहरणीय नमूना प्रस्तुत
गर्दै कालोधनलाई सेतो बनाउने र आतङ्कवाददेखि भ्रष्टाचारीसम्मलाई झट्का
दिएको छ । कति कालोधन नष्ट भयो, कति रकम जम्मा भयो, त्यसको हिसाब आफ्नै
ठाउँमा होला । भारतभित्रै यसको चर्चा हुँदा काङ्ग्रेसी घटकले विरोध गरेकै
हो । जनतालाई भएको सास्ती स्पष्ट देखिएकै हो । यद्यपि यसले दीर्घकालीन लाभ
प्रदान गर्ने अनुमान गर्न पाइनेछ । भारतकै आर्थिक विज्ञहरूले अत्याचारीदेखि
खोक्रो कदम भनेर भारतमै विरोध गरेकै हुन् । यसबाहेक भारतीय राज्यमन्त्री,
केजरीवाल, बेनर्जी र विजयन्हरूले पनि उक्त कदमको विरोध गरेका थिए । भारतको
राज्य चुनावमा कालोधन प्रयोग गरेर विपक्षीले चुनाव नजितून् भनेर गरिएको
भन्ने पनि एक समूह भारतभित्रै छ । यद्यपि उक्त कदमको प्रशंसा गर्नेहरू पनि
कम थिएनन् । चन्दा कोचर, नारायण मुर्थीदेखि अन्तरराष्ट्रिय जगत्मा चीनको
ग्लोबल टाइम्स, फिनल्याण्डका पूर्वप्रधानमन्त्रीसम्मले उक्त कदमको प्रशंसा
गरेका हुन् ।
यस्तो कदमको विवाद सामान्य नै हुन जान्छ ।
तर, परिणामचाहिँ आगामी दिनले देखाउला । भारतीय प्रधानमन्त्रीले आफ्नो
सम्बोधनमा भारतीय जनताको दुःख बुझेको धारणा व्यक्त गरे पनि नेपाल र भुटानको
विषय उठाउन आवश्यक ठानेनन् । खुला सिमानाको प्रयोग गर्ने नेपाल र
भुटानजस्तो मुलुकमा यसको प्रत्यक्ष प्रभाव पर्ने निश्चित थियो । आखिर
भारतीय मुद्राको कारोबार पर्याप्त हुने यी दुवै ठाउँलाई किन भारत सरकार र
रिजर्भ बैङ्कले बेवास्ता गर्यो भन्ने विषय अझै स्पष्ट छैन । निर्णय
लिनुअगाडि नै भारतीय पक्षले नेपाल र भुटानबारे केही सोचेको अवश्य हुनुपर्ने
हो । एक नजरबाट हेर्दा ‘भुटान र नेपालमा पनि उक्त रकम सटही हुने’ भनी
उद्घोष मात्र गरेको खण्डमा यी दुई राष्ट्रमार्फत आफ्नो रकम सटहीमा लाग्ने
हो कि भन्ने डर भारतलाई भएको हुन सक्छ र शायद यही डरले कुनै उद्घोष नगरेको
हुन सक्छ । तर, भारतीय दूतावासकै सक्रियतामा यस्तो कदम गरिएको भए शायद अलि
विश्वासिलो हुन्थ्यो कि भन्ने नजरबाट भारतले सोच्नुपथ्र्यो । शायद सोचेको
पनि हुनुपर्छ, नत्र मोडालिटीको माग गर्दैन थियो होला भारतीय दूतावासले ।
नेपाली अर्थबजार भारतीय मौद्रिक र आर्थिक
नीतिले सोझै असर पार्ने बजार हो । नोटबन्दीको अवस्थामा नेपालमा कुनै असर
नपर्ने त हुँदै होइन । आयातनिर्यातदेखि लिएर पर्यटन व्यवसायसम्ममा यसको
प्रभाव स्पष्ट महसूस गर्न सकिन्छ । नेपाली अस्पतालमा भारतीयको चाप घटेको
तथा नेपाली किसानहरूको समस्या स्पष्ट देख्न सकिन्छ ।
नेपालले अहिले नयाँ भारतीय ५ सय र २
हजारको मुद्रा ‘गैरकानूनी’ भनेर माने तापनि विदेशी मुद्रा प्रबन्ध नीतिमा
उक्त रकम सूचीकृत गरेपछि मात्र मान्ने धारणा व्यक्त गरेको छ । यी नोटहरू
उक्त नीतिमा सामेल गराउना साथ नेपालमा मान्यता प्रदान गर्ने भनी व्यक्त
गरेको छ । तर, भोलि यही रकमलाई पनि भारतले नयाँ आकार दियो भने नेपालले फेरि
हात फैलाएर सहयोगको आश मात्र गर्ने हो र ? यस्तो अवस्थामा भारतीय रिजर्व
बैङ्क र भारतीय सरकार आफै जिम्मेवार हुनुपर्ने थियो । तर, सतहबाट हेर्दा
पन्छिएकोझैं देखिन्छ । हुन पनि यो पीर अहिले नेपाल र भुटानलाई छ र अचानोको
चोट खुकुरीलाई थाहा नभएको पनि हुन सक्छ । अब नेपालमा रहेको उक्त रकमहरू के
गर्ने ? कोशी वा कर्णालीतिर लगेर फ्याल्ने त ? ‘होइन ! नाफ्याल्ने र अहिले
राखिरहने’ भन्ने कुनै आधार नै नरहेको अवस्था छ । राष्ट्र बैङ्कले केही
बोल्न नसकेको यस अवस्था अन्धकारसरह नै छ ।
राजनीतिक कारणले गर्दा भारत नेपालसँग
रुष्ट भएर यस्तो व्यवहार गरेको मान्न पनि सकिँदैन । भुटानको केन्द्रीय
बैङ्कले पनि भारतसँग यस विषयमा छलफल नगरेको होइन, त्यता पनि नेपालजस्तै
कुनै प्रक्रिया जनाइनसकेको अवस्थामा यसलाई नेपालको कूटनीतिक कारणले गर्दा
भनेर सोझै आरोप लगाउन पनि मिल्दैन ।
भारतीय पक्षले जनाएझैं, अहिले भारतभित्रै
समस्या रहेको हुन सक्छ र यो विषय बुझ्न आवश्यक पनि छ । होला, विद्युत्
आपूर्ति सहज नभएको अवस्थामा अनलाइन कारोबारबाट नै सबै कुरा सम्हाल्न गाह्रो
भएको हुन सक्छ । यस अवस्थामा भारतीय बैङ्कलाई नै भ्रष्टाचार गर्ने अवसर
पनि निस्केको होला । घरभित्रको मुसा समात्न नसकेको अवस्थामा घर नै आगो
लागेको होला । तर, नेपालीको समस्या पनि भारतीय पक्षले बुझ्न आवश्यक छ ।
उक्त रकम फ्रिज मात्रै भएको भए पनि केही राहत हुने थियो होला, तर मिति
सकिएपछि आशङ्का अझ बढ्न थालेको पनि बुझिदिन आवश्यक छ ।
अन्तिम समयमा भारतले नेपाल र भुटानमा
रहेको भारतीय नोट साट्न विशेष टोली पठाउने आशा देखाए पनि मिति सकिसकेको
अवस्थामा नेपालीहरू आत्तिनु स्वाभाविक मान्न सकिन्छ । यस समयमा नेपाली र
भुटानी प्रतिनिधि मिलेर पहल गर्नुपर्ने भए पनि हामी अझै उनीहरू आएर केही
गरिदेलान् भन्ने आशमा छौं । यो विषय नेपालीले चाहेर पनि केही गर्न सक्दैनन्
। यस कारण विशेष व्यवस्थाकै आशा गर्नुबाहेक हाम्रो विकल्प छैन । आन्तरिक
कार्य सकिएपछि नेपाल र भुटानको विषय हेर्ने भारतीय सोचाइ हुन सक्छ । तर,
त्यसको जानकारी यी दुई मुलुकका सम्बन्धित निकायलाई तत्काल गराउन आवश्यक छ ।
अब नेपालीले आफ्नै मुद्रालाई बढी
प्राथमिकता दिने पाठ सिक्न आवश्यक छ र भारतीय रकम राख्नुअगाडि अवश्य
सोच्नुपर्छ । तर, यदि भारतले साँच्चिकै बेवास्ता गरेकै हो भने नेपाली पक्ष
पनि कडारूपमा प्रस्तुत भएर आगामी दिनमा भारतीय रकम सटहीको जिम्मेवारी नलिने
उद्घोष गर्न आवश्यक छ ।
आर्थिक अभियान मा पौष १९मा प्रकाशित!
No comments:
Post a Comment