अनलाइन कारोबार: तत्कालीन आवश्यकता

Oct 25, 2017



Image result for onlineसपोर्ट माइक्रो फाइनान्सको प्राथमिक शेयर भर्न ५ घण्टा लाइन लाग्नुपरेन, न त झन्झटिलो नै । नागरिकताको फोटोकपीदेखि फाराममा फोटो राखेर ‘सक्कलबमोजिम नक्कल ठीक छ’ भनी लेख्नुपरेन । रुजू गराउने लाइन, पैसा तिर्ने लाइन अनि फर्म बुझाउने लाइन, कहीँ पनि बस्नुपरेन । गत केही महीनाबाट आस्बा प्रणाली शुरू गरेपछि, कुनै झन्झटिलो प्रक्रियाबाट शेयर आवेदन दिनुपर्ने युगको अन्त्य भएकै हो ।

हुन त ठूला लगानीकर्तालाई निरुत्साहित पार्ने नीति आए पनि, यसले साना लगानीकर्ता, नयाँ लगानीकर्तालाई प्रोत्साहन गर्ने देखिन्छ, जसले दीर्घकालीन समयमा शेयरबजारमा एक उत्साहपूर्ण अवस्था ल्याउने कल्पना गर्न सकिन्छ । सपोर्टको शेयर १४ जनामध्ये १ जनालाई पर्ने आकलन भइरहँदा ५ घण्टा लाइन बसेर नपरेको आक्रोशको सीमा त अवश्य कम हुने नै छ । अझ अहिले सिद्धार्थ म्युचल फण्ड भर्न कुनै भीडको सामना गर्नु पर्दैन र विभिन्न बैङ्कले दिएको अनलाइन आस्बा सुविधाले त सहजै घर बसीबसी २४ घण्टे समय प्रयोग गरेर भर्न पाइन्छ । अझ आफ्नो पोर्टफोलियोमा केकति घटबढ भएछ भनेर क्यालकुलेटर लिएर बस्नु पनि पर्दैन, मेरो शेयरमा रू. ५० मा खोलेको खाताले दैनिक विवरण सहजै प्राप्त गर्न सकिन्छ ।

यहाँ लगानीकर्ता, जो पहिलोपल्ट लगानी गर्दै छ, उसले एक तहको परिश्रम सिक्नलाई खर्च गर्नुपर्नेबाहेक अन्य कुनै असहजता र कठिनाइ देखिँदैन । शिक्षित दर वृद्धि भइरहेको यस समयमा सहजताको अर्को फड्को प्राप्त गर्न पाउनु आफैमा सहजताको कदमभन्दा फरक नपर्ला । आखिर यसले समय र मेहनतबाहेकको यात्रा खर्चसम्म न्यूनीकरण गर्छ । कागजी झन्झट न्यूनीकरण र फर्जी घटनामा पनि न्यूनीकारण गर्ने निश्चित छ । कागजी जानकारीलाई इण्ट्री गर्ने र त्यसलाई फेरि मूल्याङ्कन गर्ने दोहोरो काम रोकेर लगानीकर्तालाई छिटो सुविधा प्रदानसमेत गर्ने यस प्रणालीले आगामी दिनमा शेयर कारोबारको संस्कार नै परिवर्तन गर्ने निश्चित छ ।

बम्बई स्टक एक्सचेञ्ज होस् या भारतका अन्य स्टक एक्सचेञ्ज, जहाँ ब्रोकरको प्रयोग गरिए तापनि अनलाइन प्रणालीबाट कारोबार तीव्र गतिमा भइरहेको अवस्थामा हामी नेपाली भर्खर मात्र अनलाइनको स्वाद चाख्न पाइरहेका छौं । अनलाइन कारोबारमा तीव्र सुधार आवश्यक छ, अनि बल्ल जाजरकोटमा बस्ने लगानीकर्ताले सहजै लगानी गर्न सक्ने वातावरणको निर्माण हुन्छ ।

गत वैशाखमै अनलाइन कारोबार प्रणालीको खाका निर्माण गरे तापनि हालसम्म पनि नहुन नसक्नुमा केही समयसम्म नेतृत्वविहीन नेप्सेकै दोष लगाउनेबाहेक अन्य विकल्प र≈यो पनि कहाँ र ? जति सजिलो प्राथमिक शेयरको आवेदन दिन सकिन्छ, त्यत्तिकै कठिन छ, लीलामीमा शेयर खरीद गर्न । एउटा कर्मचारीले लीलामीको शेयर खरीद गर्न अझै पनि १ दिन खर्च गर्नुपर्ने अवस्था देखिन्छ । फर्म भर्ने, पैसा राख्न बैङ्क जानेदेखि लिएर फेरि सिलबन्दी भएको खाम बुझाउने कार्य सहजै कम्प्युटरबाट अझै पनि गर्न सकिँदैन । अझै पनि नागरिकताको फोटोकपी र फोटोजस्ता कागजी आधार बोकेरै आवेदन भर्न हिँड्नुपर्ने बाध्यकारी अवस्था रही आएकै छ । झन् लीलामी त मानौं काठमाडौंकै लागि मात्र सीमित विषय हो, जहाँ उपत्यकाबाहिरका लागि पहुँच हुन अझै निकै समय लाग्ने स्पष्ट देखिन्छ ।

लीलामीबाहेक हकप्रदायक शेयरको पनि त्यस्तै अवस्था छ । हक प्रदायक शेयरको आवेदन दिन अझै पनि त्यही पुरानो झन्झटिलो प्रणाली उपयोग गर्नुपर्छ । झन् म्याद सकिँदै गएपछि त्यो अन्तिम समयमा २–३ घण्टे लाइन लाग्नुपर्ने बाध्यकारी अवस्था अझै रहिआएकै छ । त्यसलाई पनि अनलाइन प्रणालीमार्फत गर्न सकेको खण्डमा निकै सहज हुने थियो । ३ कित्ता हकप्रद शेयर भर्न ३ घण्टा लाइनमा उभिनुपर्ने अवस्था आउने थिएन ।

काठमाडौं केन्द्रित कारोबार बन्द गर्न उत्तिकै आवश्यक छ । उपत्यका बन्द हुँदा किन देशभर कारोबार ठप्प पार्ने ? हुन त उपत्यकाबाहिर अझै पनि ठूलो मात्रामा कारोबार भएको देखिँदैन । तर, अहिले फस्टाउँदै गएको शेयर कारोबारलाई एउटा स्थायित्व दिन उपत्यकाबाहिर पनि सोहीअनुरूपको ज्ञान प्रदान गर्न आवश्यक छ । बीबीए होस् या बीबीएस, त्यहाँ शेयर कारोबारको सिद्धान्त पढाइ भए तापनि प्रयोगात्मक शिक्षाको उत्तिकै कमी देखिन्छ । ४–५ लाखसम्म खर्च गर्ने विद्यार्थीले १० हजार शेयरमा हाले आफै बुझ्थे । यसलाई अनलाइन प्रणालीमार्फत नै शिक्षित गराउन नेप्सेले बेलाबखत प्रयोगात्मक शिक्षाको गोष्ठीहरू आयोजना गर्न सक्नुपर्छ ।

१९९४ मा जम्मा ७९ ओटा कम्पनी रहेको शेयरबजारमा आजको अवस्थासम्म आइपुग्दा सुधार अवश्य देखिन्छ । यद्यपि प्रविधिको विकासको फड्कोसँग तुलना गर्दा चाहिँ नेपाली शेयरबजारले अपेक्षित फड्को मारेको देख्न सकिँदैन । तर,  चन्द्रबहादुर साउदकोे महाप्रबन्धकमा नियुक्त भएसँगै अनलाइन प्रविधिलाई जोड दिने प्रतिबद्धताले थप आशा निम्त्याएकै हो । हुन त उनकै पृष्ठभूमिले गर्दा नेप्से केही दिन रातो भएको आकलन गरिए तापनि उनलाई नेप्सेको बारेमा अनुभव भएको हुनाले आशा अझ बलियो हुनु स्वाभाविक हो । जसरी राजस्थानमा बसेर राजस्थानीले नेशनल स्टक एक्सचेञ्जमा हात हालेका हुन्छन्, गुजरातमै बसेर गुजराती समुदायले बम्बई स्टक एक्सचेञ्जमा दबदबा कायम गरेका छन्, त्यसै गरी विराटनगरवासीले नेप्सेमा हात हाल्न सक्नुपर्‍यो, जुम्लावासीले त्यहीँ बसेर शेयर कारोबार गर्न सक्नुपर्‍यो । अनि बल्ल नेपाली शेयरबजारले एक उत्साहजनक फड्को मार्ने थियो ।
सपनाजस्तै देखे पनि हामी हाम्रो यथार्थमा आउनैपर्छ । हामीलाई थाहा छ, नेपालमै एउटा गुणस्तरीय मोबाइल एप, जसले शेयरको सहजता प्रदान गर्न सक्छ, त्यसको अभाव । हुन त वेब एप्लिकेशनमै सबै जानकारी अझ नपाइएको खण्डमा विक्री ११ बजे नै भए तापनि थाहा पाउन ४ बजेसम्म कुर्नुपर्ने अवस्था छ । जसले आज ११ बजे बेचिएको शेयरको चेकलाई अर्को दिनमा सारिदिन्छ । त्यसमाथि बेलाबखत अनलाइन समस्याले कारोबार नै नदेखिने अवस्थाबाट त निकै नै पीडित भएकै छन् नेपाली लगानीकर्ता । मेरो शेयर वेबमै मात्र सीमित छ, अझ पनि मोबाइल एप बनाउन नसक्नुको कारण बेवास्ता हो कि अक्षमता आफैमा उत्तरविहीन छ ।

अनलाइन कारोबार स्थापना गर्नासाथ ‘ब्रोकरले फोन नउठाउने’ या ‘भनेको बोलपत्रमा आफ्नो सानो सङ्ख्याको शेयर बेवास्ता’ गरिदिने समस्याबाट राहत सहजै मिल्ने थियो । फोन नलाग्ने होस् या अन्य प्राविधिक समस्यालाई सहजै पार गरी ब्रोकरकै कार्यलाई पनि सजिलो र छरितो बनाउन सम्भव हुने थियो । नेपाल टेलिकमले प्रदान गरेको तथाङ्कअनुसार लगभग आधा नेपाली जनसङ्ख्यासँग इण्टरनेटको पहुँच रहेको छ र यस अवस्थामा लगानी गर्ने सबैसँग इण्टरनेटको पहुँच नहोला र ?

हामी चरणबद्ध विकासमा अवश्य छौं । कागजी शेयर कारोबारलाई अहिले डीम्याट प्रविधिबाट कारोबारमा गर्दै छौं । झन्झटिलो शेयर आवेदन प्रक्रियालाई सहजताको बाटोतर्फ डोहोर्‍याउँदै छौं । यद्यपि प्राविधिक विकासको तीव्र गतिलाई हामीले अझै समात्न सकेका छैनौं । घरै बसीबसी सम्पूर्ण शेयरको कारोबार गर्न सकिने यस समयमा अझै पनि हामी सोही पुरानो ढाँचा छोड्न सकेका छैनौं । आशा गरौं, चाँडै नै हामी प्राविधिक विकासको फाइदा उठाउन सक्नेछौं र सम्पूर्ण शेयरसम्बन्धी काम घरै बसीबसी अनलाइन प्रविधिमार्फत गर्न पाउनेछौं ।


 २०७४-०६-२९ मा अभियानमा प्रकाशित
http://www.abhiyan.com.np/new/Articles/view/106659

No comments: