स्वीफ्ट ह्याक भएर विदेशी बैङ्कमा रहेको
खातामा करोडौं रकम तानिएको खबरले गत हप्ता बैङ्किङ बजारमा तरङ्ग सृजना
गर्यो । एकथरी बैङ्कका ग्राहकले त आफ्नो खातामा केही हिनामिना भएको हो कि
या पूरै पैसा छ कि छैन सम्म हेरे ।
एक त कात्तिक लाग्नसाथ बैङ्कहरूले
घटाएको ब्याजदरप्रति आक्रोश थियो, त्यसमाथि फेरि ४५ करोड रुपैयाँबराबरको यस
घटनाले नेपाली बैङ्क र बैङ्किङ प्रणालीमै प्रश्न उब्जाएको चाहिँ अवश्य हो ।
अपेक्षित अनुपातमा फाइदा हुन नसकेका नेपाली कमर्शियल बैङ्कहरू भर्खर
मात्रै तरलताबाट ओभाउने क्रममा थिए । त्यसमाथि ग्राहकहरूको अपेक्षा भेट्न
नसकेको गुनासो आफ्नै ठाउँमा छ । बढ्दो प्रतिस्पर्धासँग जुध्दै गरेका यी
बैङ्कको चुनौती प्रशस्त देखिन्छ ।
सर्वप्रथम, चुनौतीका रूपमा प्रस्तुत भएको
विषय भनेकै आम सर्वसाधारणमा बैङ्किङ पहुँच हो । करीब ४५ प्रतिशतसँग मात्रै
बैङ्किङ पहुँच भएको अवस्थामा सबै स्थानीय तहमा पुग्नुपर्ने भनी भनिए तापनि
सबै तहसम्म पुग्न सक्नुलाई नै प्रमुख चुनौतीका रूपमा लिन सकिन्छ । २८
कमर्शियल बैङ्क रहेको नेपालमा उनीहरूले ७ सय ५३ तहसम्म पुग्न सक्ने वातावरण
अझै निर्माण गर्न नसकेको स्पष्ट देख्न सकिन्छ । ती हिमाली भेग हुन् या
तराईका फाँट, बैङ्कहरूलाई त्यहाँ गएर एउटा स्वतन्त्र शाखा खोल्न सक्नु
आफैमा चुनौतीपूर्ण नै छ । आखिर बैङ्कले सो स्थानमा स्वतन्त्र रूपमा आफ्नो
कार्य सञ्चालन गर्न सक्नुपर्ने हुन्छ । ऋण प्रवाहदेखि लगानी जम्मा गर्न
सक्नुपर्ने हुन्छ, जुन वास्तवमै चुनौतीपूर्ण हुन्छ ।
७ सय ५३ तहमै बैङ्क पुर्याउनु प्रमुख
चुनौतीका रूपमा रहेको यस अवस्थामा बदलिँदो मौद्रिक नीति अर्को चुनौतीका
रूपमा रहेको देखिन्छ । अनपेक्षित नीति आउने डरले त्रसित अवस्थामा नेपाली
बैङ्कहरू बस्नुपर्ने अवस्था रहिआएको छ । हुण्डी आफैमा समस्यापूर्ण विषय
रहिआएको नेपालमा अहिले पनि बैङ्ककै प्रमुखहरू त्यहीँबाट ऋण लिने समस्याबाट
ग्रसित देखिन्छन् । कसलाई ऋण दिने ? कसलाई नदिने ? केमा ऋण प्रदान गर्ने ?
केमा कति ब्याज कायम गर्ने ? यस्ता विषयमा बैङ्किङ एशोसिएशनले आफै एक सटिक
निर्णय कायम गर्न सक्नुपर्ने हुन्थ्यो । तर, यहाँ त पद र शक्तिका लागि
यस्ता एशोसिएशनको निर्माण भएको जस्तो देखिन्छ ।
अनुपातअनुरूप बैङ्कमा हुने भीड व्यवस्थापन
गर्न नसक्नु आफैमा असफलताको दृष्टिभन्दा फरक नपर्ला । अहिले पनि एउटा
ग्राहक गएर १ घण्टा बैङ्कमै उभिनुपर्ने अवस्था नरहेको चाहिँ होइन ।
क्लियरिङमा लाग्ने समय अझै पनि लामो नै हो । वास्तवमै, क्लियरिङको समय कति
भनेर टुङ्गो नलाग्ने अवस्था छ । बुधवार दिउँसो लगेर बुझाइएको चेक आइतवार
बेलुकी क्लियर हुने अवस्थाबाट हामी अझै पन्छिन सकेको छैनौं । राष्ट्र
बैङ्कको भूमिकादेखि कमर्शियल बैङ्कको भूमिका, दुवैको बराबर भूमिका रहने यस
प्रणालीमा सुधारको व्यापक खाँचो अवश्य छ ।
हुन त पूँजीलाई ८ अर्ब बनाउनुपर्ने निर्णय
आइसके तापनि र त्यस विषयमा सम्बन्धित पक्षले ध्यान आकर्षण गरिसकेको अवस्था
भए पनि यो समस्या अझै पूर्णरूपमा समाधान भएको देखिँदैन । अझै पनि
चुक्तापूँजी तोकिएको भन्दा निकै कम रहने बैङ्कहरू प्रशस्तै देखिन्छन् ।
बैङ्किङ प्रणालीसँग दीर्घकालीन योजनाको अझै पनि अभाव देखिन्छ र अझै पनि
घरजग्गा जस्ता क्षेत्रमा बैङ्कहरूले ऋण दिँदै आइरहेको अवस्थामा उनीहरूको
दीर्घकालीन योजनाको अभाव स्पष्ट देखिन्छ । एउटा कुनै ठूलो वैदेशिक योजनालाई
ऋण दिन अझै पनि नसक्ने हाम्रा बैङ्कहरू ठूलो माछाभन्दा पनि छाक टार्ने
माछामै रमाइरहेको अवस्थालाई नक्कार्न अझै पनि मिल्दैन ।
राजनीतिक, आर्थिक समस्याले गुम्सिएको
नेपाली बैङ्क सामाजिक प्रणालीबाट पनि त्यत्तिकै पिरोलिनु परेको छ । हरेक
सरकारी बिदामा छुट्टी दिनुपर्ने होस् या समाजको समावेशितालाई एक ढिक्का
पार्नुपर्ने अवस्था होस्, नेपाली बैङ्कहरूले उक्त अवस्थालाई सम्माननीय
दृष्टिले हेर्न अझै नसकेको स्पष्ट बुझ्न सकिन्छ ।
अनि प्रविधितर्फ कहिले स्वीफ्ट नै ≈याक
हुने त कहिले एटीएम चोरी । नेपाली बैङ्कहरू त्यहाँ पनि नचुकेको चाहिँ अवश्य
होइन । हुन त ‘गेम अफ थ्रोंस’जस्ता सिरिज त सहजै ह्याक गर्न सक्ने ह्याकर
भएको ठाउँमा नेपाली बैङ्कलाई त्यस्ता ह्याकरहरूबाट आफ्नो गोप्यता कायम
गर्ने र सुरक्षाको चुनौती त अवश्य छँदै छ । त्यसमाथि अझै पनि नेपालीहरूले
‘क्यास लेस बैङ्किङ’को अवाधारणा बुझिनसकेको अवस्था छँदै छ । ई–सेवा र
आई–पेलाई राष्ट्र बैङ्कले मान्यता दिए तापनि उनीहरूबाट अझै पनि मोबाइल
रिचार्ज गर्नेबाहेक ठूलै सुविधा आम सर्वसाधारणले प्रयोग गर्न सकेका छैनन् ।
अहिले पनि खातामा कति रकम छ भनी बुझ्न बैङ्क नै धाउने ग्राहकको कमी छैन ।
वाणिज्य बैङ्कहरूले आफ्नो प्रगति
गर्दैगर्दा यहाँ विकास बैङ्कहरू अझै आफ्नै भूमिकामा अस्पष्ट भएको देखिन्छ र
उल्टो आफूलाई वाणिज्यसँग दाँजेर आफ्नो भूमिकाबाट विस्थापित भएको छर्लङ्ग
महसूस पनि गर्न सकिन्छ । विकास बैङ्कहरूले आफ्नो मूल उद्देश्य बिर्सिएर
अगाडि बढिरहेको जस्तो देखिने यस अवस्थामा कतै राष्ट्र बैङ्क यसलाई औंल्याउन
चुक्दै त छैन ? भन्ने अर्को प्रश्न उब्जिनु स्वाभाविक नै हो ।
अहिले पनि पेपलमा जम्मा भएको रकम नेपालबाट
निकाल्न सकिँदैन । फेसबूक प्रमोशनका लागि विदेशी साथीको सहयोग लिनुपर्ने
अवस्था छ । अनि अझै पनि विदेशीलाई पैसा तिर्न एजेण्टको प्रयोग गर्नुपर्ने
अवस्था छ । बैङ्कले आफैलाई यस अवस्थामा सक्षम प्रमाणित गर्न आवश्यक छ । किन
अमेरिकामा रहेको साथी खोज्नुपर्ने फेसबूकमा आफ्नो व्यवसायको प्रचार गर्न ?
यहीँबाट गर्न सम्भव तुल्याउने जिम्मेवारी बैङ्कको हो । तर, ‘पेपलबाट पैसा
निकाल्न मिल्छ ?’ भनी सोध्दा यहाँका कर्मचारीबाट ‘के हो पेपल ?’ भन्ने
उत्तर आउने अवस्थामा छौं, हामी । प्राविधिक खुड्किलो बाध्यकारी भएर प्रयोग
गरेको जस्तो देखिन्छ यहाँ । आफ्नै बैङ्कको एटीम बुथ खोज्दै हिँड्नुपर्ने
अवस्थामा छौं हामी । अनि त्यो बिग्रिएको खण्डमा अर्को बैङ्कको एटीएमबाट थप
पैसा तिरेर प्रयोग गर्नुपर्ने अवस्थामा छौं ।
चुनौती मात्र भने बैङ्कको अवश्य होइन ।
यहाँ चुनौतीसँगै बैङ्किङ क्षेत्रमा प्रशस्त अवसर पनि छन् । तर, दीर्घकालीन
योजनामा ध्यान केन्द्रित गर्न उत्तिकै आवश्यक छ । यस कारण पनि बैङ्किङ
प्रणालीले आफूलाई परिस्थितिअनुसार सुधार गर्नुपर्ने हुन्छ ।
हाल एउटा बैङ्क शिकार भएको देखिए तापनि यो
समस्या सम्पूर्ण नेपाली वाणिज्य बैङ्कमा रहेको छ । आईटी विभाग रहेको
नेपाली बैङ्कमा त्यसको गुणस्तर विस्तार गर्नेतर्फ अझै पनि कुनै बैङ्क
उत्सुक भएको देखिँदैन । बेसलको नियम पालना गर्नुपर्ने चुनौती रहँदारहँदै
नेपाली वाणिज्य बैङ्कहरूमा विभिन्न चुनौती अवश्य छन् । यसका लागि बाँडिएर
होइन, संयुक्त रूपमा नेपाली बैङ्कहरूले एकीकृत कदम निकाल्न आवश्यक छ ।
आर्थिक सुधार र आर्थिक स्तरोन्नतिका लागि बैङ्क अति आवश्यक छ, यसमा चुनौती र
गुणस्तरको मूल्याङ्कन गर्न आवश्यक छ । आज एउटा बैङ्कलाई समस्या परेको
होला, तर यो त समस्त बैङ्किङ प्रणालीको समस्या हो, र यसको समाधानमा संयुक्त
रूपमा एकीकृत हुन आवश्यक छ । राष्ट्र बैङ्कले कसरी सुरक्षित हुने भनी
सिकाए पनि हामी ‘प्रोएक्टिभ’ हुन आवश्यक थियो । अझै पनि ‘रिएक्टिभ’ सोच
राख्न सकिएन भने हामीलाई यस्ता समस्याले अझै लहर लगाउने निश्चित छ ।
अभियान दैनिकमा २०७४-०७-१३
मा प्रकाशित
http://www.abhiyan.com.np/new/Articles/view/107405
No comments:
Post a Comment