बिमष्टेकको औचित्य

Aug 28, 2018
Image result for bimstec cartoonसार्कमा नेपालको गम्भीरता, साफ खेलको आयोजना नेपालका लागि आफ्नै विषय होलान् । बिमष्टेकको यो लहर चलिरहेको समयमा सार्कको बहस गर्नु उचित पनि नरहला । तर, यस प्रकारका सङ्गठनबाट नेपालले केकस्तो लाभ लियो भन्ने मूल्याङ्कन गर्न आवश्यक रहन्छ ।
सार्कमा आफ्नो भूमिका निर्वाह गर्न नसकेको नेपालले भारतको सहयोग पाएरै बिमष्टेक आयोजना गर्न सक्षम रहेको तथ्य प्रस्ट्याइरहनु नपर्ला ।
यूरोपेली सङ्घबाट बेलायत अलग भएको सन्दर्भमा यस्ता सङ्गठनको औचित्यबारे आलोचना र चर्चा हुनु स्वाभाविक हो । तर, हरेक मुलुकले आफ्नो स्वार्थ हेर्नुपर्छ । जुन उद्देश्यका साथ यसको थालनी भएको थियो, त्यसमा हामी कति सफल भयौं भन्ने विश्लेषण गर्नु आवश्यक छ, चाहे त्यो सार्कमा होस् या बिमष्टेकमा ।
Image result for bimstec cartoon
नेपालको प्रमुख समस्या बढ्दो मूल्यवृद्धि दर, आर्थिक वृद्धिदरमा अस्थिरता, बेरोजगारी आदि हुन् । यी सबै परिसूचक एकआपसमा सम्बन्धित छन् । बिमष्टेकमा आबद्ध हुँदैमा हानि हुँदैन तर आबद्ध भएर हाम्रा विकासका परिसूचकमा केकति सुधार आए त्यसको विश्लेषण अपेक्षित हुन्छ । चीनबाट अलि पर, पाकिस्तानलाई पन्छ्याउन सहज भएको हुनाले शायद भारतलाई सार्कभन्दा बिमष्टेक अलि प्यारो लागेको हुन सक्छ । २००४ देखि नेपाल बिमष्टेकमा आबद्ध हुँदै आएको हो । तर, यसबाट नेपालले खासै लाभ लिन सकेको छैन । २००४मा २ दशमलव ८ प्रतिशत मूल्यवृद्धि रहेकोमा यो बढेर २०१८ मा ८ दशमलव ७ प्रतिशत पुगेको विश्व बैङ्कले देखाएको छ । यस बीचमा औसत ८ प्रतिशत सधैं रहिरहेको सोही तथ्याङ्कले पुष्टि गर्छ । विश्व बैङ्ककै तथ्याङ्क हेर्दा न नेपालले आर्थिक वृद्धिदरमा यस अवधिमा सुधार गर्न सक्यो, न बेरोगारी नै घटाउन । नेपालले भ्रष्टाचारमा पनि सुधार गर्न सकेको छैन । पूँजीगत खर्च गर्न सक्ने सरकारको सामथ्र्यमा समेत सुधार आएको पाइन्न । विदेशी लगानीमा भने झीनो सुधार गरेको देख्न सकिन्छ ।
नेपाल बेलायतजस्तो बलियो भएको भए शायद बिमष्टेकबाट पछि हटिसक्थ्यो । नेपालले समुद्री मार्ग स्थापना गर्न सकेको छैन न त रेलमार्ग नै । संसारले बुझेको र प्राथमिकतामा राखेको कारोबारलाई नेपालले कहिले बुझ्न सकेन र सधैं ‘अनुदान’ र ‘सहयोग’ को अपेक्षा गरिरह्यो, जुन नेपालले यस बिमष्टेकमा पनि गरेको देख्न सकिन्छ । कसले आएर कोटेश्वरको जामको समस्या समाधान गरिदिन्छ भनेर आस गर्ने नेपालको सरकारलाई बिमष्टेक एउटा बजारसरह भएको छ । बोस्वानाको प्रगतिमा अफ्रिकन युनियन नभएर बोस्वानाको आफ्नै भूमिका बढी रहेको, भारतको विकासमा कुनै समूहको नभई भारतले आपैm गरेको भन्ने तथ्य नेपालले कहित्यै आत्मसात् गर्न सकेन ।
सार्क सम्मेलनमा सजाइएको रानीपोखरी जस्तै काठमाडौंलाई फेरि एक फेर सजाउन थालिएको छ । एयरपोर्टमा स्वागतद्वारदेखि तिनकुनेमा आँखीझ्यालको प्रदर्शनसम्मको लहर चलेको छ । रातारात सडक पीच भइरहेको छ । हुन त पाहुना आउँदा मात्र कोठा सजाउने हामी सबैको बानी हो । तर, नेपालले यसपालि पनि गर्ने विगतका जस्तै गफ हो– कनेक्टिभिटीको बहस । लगानी वृद्धिमा जतिसुकै बहस भए पनि लगानी गर्ने कारण उपलब्ध नहुन्जेल जोकोहीले पनि जोखीम उठाउने छैनन् । लगानी सुनिश्चित हुने हो भने नेपाल सानै भए पनि नाफायुक्त बजार भने हो ।
भारतले नेपाललगायत अन्य मुलुकमाथि कर लगाएर आफ्नो प्रभुत्व देखाइरहेको छ । यसविरुद्ध नेपाल या भुटानले आवाज उठाउने छैनन् । त्यस्तै नजीकैको बन्दरगाहसम्मको मार्गको सहजताको विषय उठाए पनि तिनको निकास निक्लिएको छैन ।
Image result for meeting cartoon
मूलतः आर्थिक र प्राविधिक क्षेत्र बढी केन्द्रित यस सङ्गठनले एक आपसी फाइदाका लागि आयातनिर्यातसम्बन्धी केही नियम बनाउनु पर्ने हो । तर, यो विषयले तार्किक निष्कर्ष पाएको छैन । सुरक्षाका चुनौतीहरू, लागू औषध कारोबार, मानव बेचबिखन, जलवायु परिवर्तनजस्ता विषयमा पनि ठोस उपलब्धि प्राप्त भएको छैन । अर्थतन्त्रको सुधार बिमष्टेकबाट कसरी सम्भव होला भन्नेमा आबद्ध राष्ट्रहरूले गम्भीर छलफल गर्नु जरुरी छ । बिमष्टेकले ठोस निर्णय लिएन भने यो केवल भेटघाट, व्यक्तिगत चिनजान र तीर्थाटनको अवसरमात्र हुनेछ । हुन त यसलाई पनि नेपालले राम्ररी ब्राण्डिङ गर्न सक्यो भने पर्यटनका लागि ठूलै आधार दिनेछ ।
यसपटक प्राथमिकतामा राखिएको भनिएको कनेक्टिभिटीको विषय निकै अघि पहिचान भइसकेको हो । १ सयभन्दा बढी परियोजना पहिचानसमेत भइसकेका हुन् । जलस्रोत, ग्यास, चामलदेखि जुटसम्मको सम्भावना बिमष्टेकमा रहेको भए तापनि ‘सिनर्जिक’ पद्धतिको उपयोग कसरी गर्ने भन्ने विषय सम्मेलनमा उठाउन आवश्यक थियो । बिमष्टेकले मान्दै आएको आतङ्कवादविरुद्धको लडाइँ कति सफल भयो त्यो पनि भन्न सकिन्न ।
Image result for useless cartoon
आयोजकले भव्य सफल भनी प्रचार गर्ने अनि विगतकै एजेण्डालाई जोड दिएर संयुक्त वक्तव्य निकाल्नेबाहेक अरू काम नभएको सन्दर्भमा बिमष्टेक आबद्ध मुलुकहरूलाई भ्रमण र भेटघाटको अवसरमात्रै हो कि भन्न सकिन्छ । खुला बजार र कारोबार गर्ने लक्ष्य लिएर खोलेको यस सङ्गठनले यस विषयमा केकति प्रगति गर्‍यो ? थाइल्याण्ड होस् या बङ्गलादेश, नेपाललाई ती मुलुकमा निर्यात गर्न कति सजिलो बनायो बिमष्टेकले ? अघिल्लो संस्करण म्यान्मारमा भएको थियो । यसमा भएको वातवरणीय सुरक्षा, आर्थिक कारोबारको सहमति, लगानी र खुला अर्थतन्त्रमा केकति सफलता प्राप्त ग¥यो, त्यसको समीक्षा गर्नु आवश्यक छ । २०१४ मा सम्पन्न उक्त सम्मेलनको उपलब्धिको विश्लेषण गर्ने हो भने बिमष्टेक भेटघाटको अवसरमै सीमित देखिन्छ । नेपालले विभिन्न विषयमा प्रतिबद्धता व्यक्त गरेको छ । तर, त्यो कार्यान्वयन गर्न कसैले चासो लिँदैन । प्रतिबद्धता पूरा गर्ने जिम्मेवारीबोध कसैमा रहँदैन । बिमष्टेकको प्रत्यक्ष फाइदा भनेको काठमाडौंका सडक केही क्षणका लागि भए पनि सफा देखिनु हो । यहाँ अस्थायी पीच हुनु हो । जोर बिजोर प्रणालीबाट स्थानीय बासिन्दाले बेहोर्ने हैरानी हो । कुनै पनि सङ्गठनमा आबद्ध हुनुपर्छ, त्यसलाई विकासका लागि सकेसम्म उपयोग गर्नुपर्छ ।


Abhiyan, Bhadra 12, 2075

No comments: