गन्तब्य कता?

Mar 9, 2016
वैशाखमा गएको भूकम्पले करीब ७ खर्ब नोक्सानी पुर्‍याएर नेपाली अर्थतन्त्रलाई निकै तल झारेको थियो । पर्यटन क्षेत्रदेखि कृषिक्षेत्र सम्मलाई अलपत्र अवस्थामा छोडिएको नेपाली अर्थतन्त्रलाई हालको ‘नाकाबन्दी’ले झनै समस्यामा पारिदिएको स्पष्ट छ ।
२०३६।३७ पछिकै तल्लो अवस्थामा नेपाल पुगिसकेको विभिन्न अर्थविद् एवम् तथ्याङ्कले स्पष्ट पारिसकेको छ । २ हजारभन्दा बढी उद्योग महीनौंदेखि ठप्प छ । मुलुकको हालको अवस्थाले स्वदेशी उत्पादनमा मात्र रास नआएर, कतिपय विदेशीहरूको लगानी गर्ने निर्णय पुनर्विचार गर्न बाध्य बनाएको छ । चाउचाउदेखि खाने तेलसम्मको अभाव महसूस गर्ने हुँदा, चरम निर्भरताको सीमा पार भएको प्रत्यक्ष अनुभूति गर्न सकिन्छ । ४ लाख मजदूर मात्र बेरोजगार भएको पक्कै होइन, यसले धेरै नयाँलाई रोजगारीको अवसरबाट पनि वञ्चित गरेको छ । यस्तो राजनीतिक वातावरणमा कोही पनि आफ्नो लगानी बाजीमा राख्न खोज्दैन किनभने व्यवसाय गर्न सामाजिक, प्राविधिक, आर्थिकजस्तै राजनीतिक सहयोग पनि समान महत्वपूर्ण हुन्छ ।

हामी कतै न कतै आत्मनिर्भरताको कुरा निकाल्छौं । हामी कुखुरा उत्पादनमा आत्मनिर्भर छौं, तर कुखुरालाई खुवाउने दाना सबै भारतीय बजारबाट भित्र्याउँछौं । हामी नुन, इन्धन, पान मसला, सुर्ती, हिन्दी सङ्गीत, बलिवुड, हिन्दी टेली सिरियल, गाडी एवम् मोटरसाइकल, रासायनिक केमिकल, अन्नदाना, लुगा कपडा, निर्माण सामग्री, रोजगारीलगायत सबै प्रमुख वस्तुमा पूर्णरूपमा भारतमा भर पर्छौं । हामी बायो ग्यासदेखि विभिन्न प्रविधिको कुरा गर्न पनि पछि हट्दैनौं  । तर, यो भूमण्डलीकरणको युगमा भूपरिवेष्टित राज्यको मात्र नभएर कुनै पनि राज्य आफैमा मात्र निर्भर हुन असम्भव सरह छ ।


हालको अवस्थाको समाधान भनेकै वार्ता हो र त्यसको साथसाथै कार्यान्वयन पनि उत्तिकै महत्त्वपूर्ण भइदिन्छ । ३ महीनादेखि बन्द रहेका उद्योगले विभिन्न संस्थाबाट लिएको ऋणको सावाँब्याज कसरी तिर्ने ? यो घाटा कसले बेहोर्ने ? यसका लागि सरकारले आन्दोलनको अवधिका लागि ब्याज मिनाहा गर्न सक्नुपर्छ । कृषिमा लगानीको आवश्यकता यो ‘नाकाबन्दी’ ले झल्काइसकेको छ, लगानी मात्र नभएर निगरानी पनि महत्त्वपूर्ण छ भन्ने पाठ लिन सकिन्छ । विगतमा भएको नाकाबन्दीबाट पाठ सिक्न नसक्नु नै हाम्रा प्रमुख कमजोरी स्पष्ट रूपमा बुझ्न सकिन्छ । कूटनीतिक अवस्था सुधार्न केही पहल पनि गरेको छैनौं । हालको नेपालको अवस्थामा विदेशी शक्तिहरूले कुनै पनि प्रतिक्रिया नदिनु कूटनीतिक असफलता  हो । अन्तरराष्ट्रिय मञ्च नपाएको भने पक्कै पनि होइन, तर बोल्न नसक्नु हाम्रो कमजोरी देखिएको छ । यसबाट स्पष्ट हुन्छ भने नेपाल भौगोलिक स्वरूपमा मात्र सानो नभएर शक्ति पनि निकै सानो छ । विषय सम्पूर्ण नेपालको हो । पहाडमा सामाजिक सञ्जालदेखि मिडियामा देखाई रुवाइकराई गर्ने बढी भए पनि एम्बुलेन्स जलाइएको, कर्फ्यु लगाइएको मधेशमा हो । अर्थतन्त्रदेखि दिगो विकासको सपना बुन्ने हामी नेपाली यदि यस्तै कुरामा अझ पछाडि धकेलिने हो भने हामी कहिले उभो लाग्न सक्दैनौं ।

लेखक भारतको जवाहरलाल नेहरू टेक्नोलोजिकल विश्वविद्यालयअन्तर्गत एमबीएका विद्यार्थी हुन् ।
अभियान दैनिकमा माघ १० गते प्रकाशित!

No comments: