नेपालमा अनलाइन व्यवसायको सम्भावना

Apr 20, 2016
पिज्जाहटले सन् १९९४ देखि अनलाइन अर्डर लिन शुरू गरेपछि औपचारिक रूपमै अनलाइन व्यवसायको शुरुआत भएको मानिन्छ । एमेजनले एकै वर्षपछि अनलाइनमार्फत पुस्तक विक्रीवितरण  गरेर यसलाई पूर्ण आकार दियो । यसको प्रभाव दक्षिण एशियामा आउन अर्को ५ वर्ष लाग्यो र सन् २००० बाट भारतमा केही प्रभाव देखिन थाल्यो । भारतीय रेलवेले अनलाइन टिकटको सुविधा २००२ मा शुरू गरेपछि अनलाइन कारोबारमा केही प्रभाव जम्दै थियो ।


सन् २००३ मै विभिन्न भारतीय एयरलाइन्स कम्पनीले पनि यसको प्रयोग शुरू गरे । मूलतः भारतीय अनलाइन बजारको विस्तारचाहिँ २००७ पछि भएको मान्न सकिन्छ, जब फ्लिपकार्टले नयाँ मोडलमा अनलाइन व्यवसायको शुरुआत गरेको थियो । एशियाली बजारमा प्रभाव जमाउन सकेको अनलाइन व्यवसायले भारतबाहेकको दक्षिण एशियामा भने ठूलो फड्को मार्न सकेको देखिँदैन । बङ्गलादेश होस् या भुटान, अनलाइन पोर्टल प्रशस्त भए तापनि यसको बजार व्यापक रूपमा जम्न सकेको देखिँदैन । श्रीलङ्कामा केही वेबसाइट राम्रै देखिए तापनि बजार विस्तारमा अलि पछिपरेको भनी बुझ्दा गलत नहोला । नेपालमा हाल ५५ लाख इण्टरनेट प्रयोगकर्ता छन् । यो २०१३ को तुलनामा ३३ प्रतिशत बढी हो । क्यामु डट कमकै रिपोर्टअनुसार १८ देखि ३४ उमेर समूह बढी अनलाइन कारोबारमा सक्रिय छन्, जसमध्ये ७२ प्रतिशत पुरुष र बाँकी महिला छन् । मूलतः विदेशबाट अनलाइन गिफ्ट नेपालमा पठाउनलाई नेपाली अनलाइन केन्द्रित देखिन्छन् । हुन त, होटल बुकिङ तथा फिल्म टिकट बुकिङमा पनि अहिले यसको प्रयोग व्यापक देखिन्छ । घरजग्गा किनबेच, भाडा लिने दिने, पुरानो गाडी, औजार विक्रीका लागि खुलेको यस्ता अनलाइन वेबसाइट पनि छ्यापछ्याप्ती भेटिन्छन् ।

नेपालको भू–बनोटले गर्दा यहाँ यसको महŒव बढी देखिन्छ । कसैलाई नौबिसेबाट मोबाइल किन्नैका लागि न्यूरोड जान मन हुँदैन, तर गुणस्तरीय मूल्यमा किन्न त्यो बाध्यता रहन्छ । त्यस्तै, जुम्लाबाट काठमाडौंमा पढ्दै गरेको विद्यार्थीले छिमेकीलाई पेनड्राइभ किनेर लगिरहनु पर्दैनथ्यो । पर्यटक पैसै नबोकी आउने वातावरण तब मात्र बन्छ, जब उसले होटल चार्जदेखि, आफ्नो यात्राको सम्पूर्ण खर्च आफ्नै देशबाट अग्रिम रूपमा नडराई तिर्न सक्छ । नेपालमा उपलब्ध हुने सामान धेरैथरी भए तापनि माग हुने वस्तु सीमित मात्रै छ । कसैले काठमाडौं उपत्यकाभरि मात्रै पनि ग्यासको अर्डर अनलाइन लिने र घरसम्म पुर्‍याइदिने व्यवस्था गर्न सक्ने हो भने शायद त्यो लाभदायी नै भएर अघि बढ्छ । व्यस्त काठमाडौंमा नून, तेल, चामल नै अनलाइनमार्फत किन्न सक्ने सुविधा दिने हो भने पसल धाउनुभन्दा १ सय रुपैयाँ बढी तिर्ने जमात पनि उत्तिकै निस्किन्छन् । क्यामुुकै रिपोर्टअनुसार पनि नेपालमा ई–कमर्श बढ्दो रूपमा प्रयोग भइरहेको छ, नेपालीले यसमा चासो पनि देखाइरहेका छन् र यसमा विश्वास गर्नेको सङ्ख्या पनि बढ्दो छ ।

अनलाइन कारोबारबाट ‘वितरण खर्च’मा धेरै नै कटौती हुने भएकाले ग्राहकले सस्तो मूल्यमा वस्तु या सुविधा किन्न सक्छ । यसले ग्राहकको रुचि र चहलपहलमा वृद्धि गर्ने पनि निश्चित देखिन्छ । ग्राहकको समय त यसले बचाउँछ नै विक्रेताको समय पनि जोगाउँछ ।

‘डिजिटल भारत’ जस्तो क्याम्पेन भारतले नै शुरू गर्दा हामी अझै पनि ‘सस्तो र राम्रो’ इण्टरनेटको खोजीमा देखिन्छौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘हाम्रो डिजिटल छिमेकी’को अवधारणा अघिसारे पनि त्यो एउटा लामो यात्रा देखिन्छ । हुन त यदि उक्त मोदीको योजना सफल भएमा नेपाललाइ प्रत्यक्ष लाभ हुने निश्चित छ । 
सम्भावना र फाइदा सँगसँगै चुनौती पनि सानो भइदिएको भए, यो निकै सरल र सुलभ तरीकाले अघि बढ्ने थियो होला, तर यहाँ चुनौती र अफ्ट्यारो पनि उत्तिकै रहिआएको छ । सर्वप्रथम त नेपालमा ऊर्जाकै अभाव छ ।

अझै पनि हामी रिचार्ज कार्ड किन्न, छेउको किराना पसल धाउनुपर्छ । अझै पनि विद्युत् महशुल तिर्न लाइन बस्नुपर्छ । र पानीको बिल भुक्तानी गर्न कार्यालय पुगेर बुझाउनुपर्ने अवस्था छ ।  हुन त अनलाइन सेवा प्रदान गर्ने ई–सेवा, आईपे, पेबिल, हेल्लोपैसा जस्ता मध्यमार्गी बाटो नभएको होइन, तर हाम्रो बैङ्किङ संरचनाचाहिँ कहाँ छ ?
‘ग्राहकको डर’ पनि अर्को चुनौती हो । किन विश्वास गरिहाल्ने अनलाइन वस्तुलाई ? के थाहा भरे सामान नराम्रो पो छ कि ? अनि कहाँ जाने गुनासो गर्न ? वा सामान फिर्ता गर्न ? आदि शङ्का ग्राहकमा पाइन्छ ।

नेपाल सानै मुलुक भए तापनि यहाँ अन्य देशको जस्तो घरदैलोमा सामान पुर्‍याउन गाह्रो छ । हामी कुनै राजदूतावास, नेताको घर, मल, भीआईपीको घर सजिलै औंल्याउन सक्छौं, तर कुनै सामान्य व्यक्तिको घर ठम्याउन धेरै गाह्रो छ । धेरै घरको नम्बर भए तापनि देखिँदैन । यस्तो अवस्थामा घरमै सामान पुर्‍याउनु चुनौतीकै रूपमा छ ।

विक्रेताले बजार चिन्न सक्नु पनि अर्को चुनौती हुन सक्छ । क्यामूकै रिपोर्टअनुसार काठमाडौंबाट ५३ प्रतिशत, विराटनगरबाट २३ प्रतिशत, पोखराबाट ८ प्रतिशत र भरतपुरबाट ४ प्रतिशत अनलाइन कारोबार हुने गरेको छ । अनलाइन सामान खरीद गर्दा कोही बढी मूल्य तिर्न चाहँदैन । हरएक समस्याको समाधान पनि अवश्य हुन्छ । विक्रेताले शुरूमा सरल तरीकाबाट सहज मूल्यमा सामान प्रदान गर्न सक्नु पर्दछ । अनलाइन खरीद गर्ने रहरकै कारण महँगो तिर्ने ग्राहक पक्कै हुँदैनन् । केही महीनाअघिको कुरा हो, मैले सामान फ्लिपकार्टबाट अनलाइन अर्डर गरेँ । २ दिनपछि सामान मेरो हातमा आयो, मैले त्यहीँ पैसा पनि तिरेँ । सामान हेरेँ, २ दिन चलाएँ, अनि मन परेन । मैले अनलाइनबाट फिर्ता गरेँ, सामान लिन मान्छे मेरो ढोकासम्म आयो । त्यसको साँझ पूरै पैसा फिर्ता पनि पाएँ । हो, यस्तै सुविधाबाट ग्राहकको मन जित्न सक्नुपर्छ, अनि बल्ल सम्भव हुन्छ ‘सफलता’ । यसबाहेक मैले बजारमा पाउने मूल्यभन्दा प्रायः सस्तो नै देखिरहेको हुन्छु अनलाइन सामान । यो सब कुरा शुरूमा लागू गरेर ग्राहकमा चेतना फैलाउन पनि उत्तिकै आवश्यक छ ।


समग्रमा अनलाइन व्यवसायलाई साथ दिन सरकार सदैव सहयोगी हुनुपर्छ । घरघरमा इण्टरनेट र हातहातमा मोबाइल कत्तिको सफल भयो आफै मूल्याङ्कन गर्न सकिन्छ । छिमेकी मुलुकले २५ लाख स्कूल र विश्वविद्यालयमा फ्री वाईफाई ल्याउने घोषणा गर्दा हाम्रो त्रिविले बल्ल आफ्नो क्याम्पसमा फ्री वाइफाईको अवधारणा ल्याएको छ । एउटा दक्ष ‘थिङ्क ट्याङ्क’को टोलीबाट उचित निर्णयको आवश्यकता छ । मुञ्चा, मेट्रो तरकारी, एस कान्तिपुर, हरिलोजस्ता वेबसाइट नभएका पनि होइनन् । तर, जसरी २००७ मा फ्लिपकार्टले बजार आफ्नो मुठ्ठीमा पार्‍योे, नेपालमा पनि यस्तै आवश्यकता छ । नेपालमा अनलाइन व्यवसाय असम्भव त हुँदै होइन, तर दृढशक्तिका साथ लाग्नुपर्ने खाँचो छ ।
लेखक आन्ध्रप्रदेशको जवारलाल नेहरू टेकनोलोजिकल विश्वविद्यालयमा एमबीएमा अध्यनरत छन्

No comments: