कतारप्रति गम्भीरताको खाँचो

Jun 30, 2017
यदि कुनै राष्ट्रको स्टक बजारको अवस्थाले उक्त राष्ट्रको राजनीतिक अवस्था झल्काउँछ भन्ने मान्यता राख्ने हो भने कतारको स्टक बजारको अवस्था उक्त दिनको निकै विकराल अवस्थामै झ¥यो ।
नझरोस् पनि किन ? गत वर्ष नेपालले भोगेको नाकाबन्दीभन्दा नराम्रो अवस्था थियो । हुन त साधारण भाषामा ‘कूटनीतिक सम्बन्ध’ तोड्नु भन्दैमा नाकाबन्दी नै गर्ने अवस्था बुझिँदैन । तर, यहाँ साउदी, इजिप्टलगायत मुलुकले सोही प्रकारले व्यवहार गर्दा कतारले भोगेको सङ्कट एउटा गम्भीर विषय मान्न सकिन्छ । हुन त कतारमाथि साउदी, युनाइटेड अरब, बहराइनले अल्पकालीन रूपमा यस्तै सङ्कट २०१४मा पनि गरेकै थिए । कतारको प्रगति ट्रम्पलाई चित्त नबुझेको हो या वास्तवमै कतारले आतङ्ककारीलाई संरक्षण गरेको कारणले होस्, यसले पार्ने असर गम्भीर हुन सक्छ, जसले कतारमा बसोबास गर्नेहरूलाई प्रत्यक्ष प्रभाव पार्ने निश्चित छ ।
१९७७ देखि कूटनीतिक सम्बन्ध स्थापना गरेको नेपालले कतारमै आफ्नो राजदूतावास २००० मा शुरू गरेको थियो । २०११ देखि कतारले समेत आफ्नो राजदूतावास काठमाडौंमा सञ्चालनमा ल्याएको तथ्य मात्र हेर्ने हो भने पनि नेपालको छुट्टै सम्बन्ध कतारसँग रहेको स्पष्ट देखिन्छ । यसबाहेक आयातनिर्यातका लागि पनि कतारसँग नेपालको राम्रै सम्बन्ध देखिन्छ । पास्ता, कार्पेट, नुडल्स, चियालगायत पेट्रोलियम वस्तु, विभिन्न खनिज पदार्थ र पर्यटनमा दुई मुलुकको आदानप्रदानले बेग्लै स्थान लिएको छ ।
गतवर्षको नेपालमा रहेको नाकाबन्दीसँग प्रत्यक्ष जोड्न किन मिल्दैन भने कतारसँग समुद्री पहुँच छ, जसको लाभ उसले लिन सक्छ । त्यो बाहेक, एशियाकै प्रख्यात मिडिया हाउस अल जजिरा पनि कतारसँग रहेको हुँदा उसलाई त्यहाँका बासिन्दाको अवस्था बिजोग नै हुँदैन भन्नेबारे निश्चितता छ । शायद सोही अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ रहेका राजदूत रमेशप्रसाद कोइरालाले नआत्तिनु भनी भनेका हुन् । शायद २०१६ मा मोदी आफै कतार भ्रमणमा गएर आफ्नो सम्बन्ध स्थापना गरेको कारणले गर्दा पनि दक्षिण एशियाली मुलुकले आत्तिहाल्नुपर्ने अवस्था छैन भन्ने मान्यता कोइरालाको हुनुपर्छ ।
विभिन्न विज्ञहरूको भनाइ जति सरल रूपमा ‘केही हुँदैन’ भनेर आएको छ, यो अवस्था त्यति सहज देखिँदैन । कूटनीतिक सम्बन्धमा मात्र सीमित भएको भए शायद यी विज्ञको भनाइ सार्थक हुने थियो । तर, यहाँ आर्थिक पक्षसँग प्रत्यक्ष जोडिने भएकाले विषय गम्भीरतातर्फ उन्मुख देखिन्छ ।
कतारको आफ्नै बन्दरगाहबाट सोझै भारत पेट्रोल आउने हुनाले पेट्रोल सङ्कट नहोला । तर, अन्य क्षेत्रमा नेपाल र नेपालीलाई असर पर्न जाने प्रत्यक्ष ठाउँ भेटिन्छन् । कतार एयरवेज रहँदारहँदै, अनि त्योबाहेक नेपाल एयरलाइन्सकै सीधा उडान रहेको अवस्थामा यात्रामा कुनै समस्या नरहेको तर्क शायद त्यसमै मात्र सीमित छैन । इथियाड, फ्लाई दुबई नरहेको खण्डमा उडानको सङ्ख्या सीमित रहने गर्छ जसले गर्दा उडानमा महँगी हुने सम्भावना रहन्छ । अथवा नेपालीहरूले दिल्लीको मार्ग प्रयोग गर्नुपर्ने हुन्छ । त्यसबाहेक कतारमै रहेका नेपालीहरूलाई सोझै अन्य मुलुक यात्रा गर्नसमेत असर पर्ने देखिन्छ । हुन त लरी गुडाउँदै गएका नेपाली चालकहरूलाई क्षणिक समस्या देखिएकै थियो, जुन आगामी दिनमा अझ गम्भीर हुन सक्छ । केही परेको अवस्थामा आफ्नै हवाईजहाज प्रयोग गर्ने क्षमता भए तापनि परिआएको अवस्थामा के गर्ने भन्ने विश्लेषण गर्न सक्नुपर्छ ।
खाद्यान्नको समस्यासँग लड्न कतारले आफूसँग १ सयभन्दा बढी एयरक्राफ्ट रहेको जनाएको भरमा नेपाली विज्ञ निश्चिन्त देखिए तापनि ६० प्रतिशतभन्दा बढी खाद्यान्न निर्यात साउदीबाट हुने उक्त मुलुकमा अहिले इरान, टर्कीजस्ता मुलुकसँग निर्भर हुनुपर्ने अवस्था स्पष्ट छ । कतारका फ्याक्ट्री आफै सङ्कटमा रहेको यस अवस्थामा त्यहाँ रहेका सम्पूर्ण नागरिक, गैरनागरिक यसको चपेटामा परिसकेको या चाँडै नै पर्ने स्पष्ट देखिन्छ र यस अवस्थाबाट नेपाली अछुतो रहने कुनै ठाउँ देखिँदैन ।
सन् २००५ मा भएको श्रम सम्झौतापश्चात् नेपालीहरू औपचारिक रूपमा कतार जान थालेका हुन् । त्यहाँ गएर उनीहरू नयाँ बन्दरगाह, अस्पताल क्षेत्र, मेट्रोदेखि २०२२मा हुने विश्व कपका लागि स्टेडियमसम्मको निर्माण कार्यमा संलग्न भएका छन् । त्यहाँ प्रयोग हुने निर्माण सामग्री मूलतः साउदी अरेबियाबाट आयात गरिन्थ्यो । सोही मार्ग बन्द हुँदा, निर्माण कार्य रोकिने डर कतारलाई भएको हुनैपर्छ । यदि त्यस्तो अवस्था आएमा त्यहाँ कार्यरत नेपाली कामदारको रोजगारीमै प्रश्न आउँछ ।
रोजगारमा कुनै प्रकारको समस्या देखा पर्ना साथ, रेमिट्यान्सको भरमा निर्भर नेपाल र धेरै नेपाली परिवारलाई प्रत्यक्ष असर पर्ने करीब निश्चित हुन्छ । विगत ९ महीनामा वैदेशिक रोजगारीबाट घटिरहेको रेमिट्यान्स वृद्धिदर घटेको समयमा यस घटनापश्चात् झनै घट्ने डरप्रति नेपाली विज्ञहरूको विश्लेषण कम भएकै हुनुपर्छ । अन्यथा यस अवस्थाप्रति गम्भीरता अलि बढी नै देखिनुपर्ने थियो ।
यसबाहेक कतार आफै सङ्कटमा परेको समयमा व्यापारप्रति कस्तो खुड्किलो प्रयोग गर्ने हो, त्यसमा नेपालको व्यापार प्रत्यक्ष जोडिएको हुन्छ । हुन त यसै प्रकारको समस्यासँग त्यहाँ रहेका बङ्गाली र भारतीय कामदार पनि जोडिएका छन् । तर, बङ्गलादेश सरकारले त्यहाँको अवस्थाप्रति आफू ‘सतर्क’ रहेको जनाएको छ भने भारतीयहरूलाई भारत सरकारले ‘सतर्क भएर बस्न’ आग्रह गरेको देखिन्छ । नेपाल मात्रै त्यस्तो मुलुक हुनुपर्छ, जसले ‘नेपालीहरूलाई कुनै समस्या नहुने’ भनी ढुक्क भएको देखिन्छ । वर्तमान अवस्थामा संसारभरको आँखा कतार र त्यहाँ बसोवास गर्नेप्रति रहेको समयमा कति सजिलै नेपाली पक्षले ढुक्क हुनु भनी आश्वासन दिएर गैरजिम्मेवारी प्रस्तुत गरेको देखिन्छ । युद्धसम्मको परिकल्पना गरिएको यस अवस्थालाई जुन दृष्टिले हेरियो, यो पुष्टि हुन्छ कि या त नेपालीहरू भविष्यवाणी गर्न सक्छन्, या उनीहरू भोलि जे परे पनि त्यसको सामना गर्न तयारी अवस्थामा छन् ।
नेपाल आफै शक्तिहीन मुलुक भएकाले यस्तो परिस्तिथिमा उस्तै समस्या भोगिरहेका बङ्गलादेश, भारतसँग मिलेर कुनै योजना निर्माण गर्न सके बुद्धिमानी हुने थियो । भोलि नसोचेको कुनै अवस्था आइपरेमा नेपाल फेरि त्यही लम्पसारवाद भएर कसैले उद्धार गरिदेओस् भनी आश राख्नुभन्दा यस्तो अवस्थामा सतर्क हुन आवश्यक छ । दोहामा अवस्थित राजदूतावासले त्यहाँ कार्यरत नेपाली कामदारको विषयमा कतार सरकारसँग छलफल गर्न उत्तिकै आवश्यक छ ।
हुन त कतारको शेयरबजार उकालो लाग्नु, कतार आफै सक्षम छ भन्दै यस समस्याको सामना गर्ने पक्ष हेर्दा सकारात्मक ऊर्जा लिन सकिन्छ । तर, राजदूतावास नै रहेको उक्त स्थानमा भोलिको सम्भावित अवस्था, वातावरण प्रक्षेपण गरेर त्यस समस्यालाई कसरी सामना गर्ने भनी रणनीति निर्माण गर्न उत्तिकै आवश्यक छ । यो अवस्था गतवर्षको नाकाबन्दीभन्दा १० गुणा ठूलो भएको तथ्यलाई स्वीकार्ने पर्छ । विगतको सरकार, जो बाहिर अलपत्र रहेका नेपालीको उद्धारमा तल्लीन देखिन्थ्यो, त्यस्तै रूपमा परराष्ट्र मन्त्रालय अग्रसर हुन उत्तिकै आवश्यक छ । आशा गरौं, कुनै अप्रिय अवस्था सृजना नहोस् ।
अभियान दैनिकमा २०७४-०२-३१ मा प्रकाशित
www.abhiyan.com.np/new/Articles/view/99452

No comments: