खेलकुदसँग जोडिएको उत्साह र उमङ्ग मानवीय भावनामै सीमित अवश्य हुँदैन । कसैको जितमा रमाउने र हारमा निराश बनाउने खेलकुदको उद्देश्य अवश्य होइन ।
खेलकुदसँग जोडिएको अर्थतन्त्र, सधैं पछाडि रहिरहन्छ, जसको बहस तथा मूल्याङ्कन आवश्यक ठानिँदैन र एक सर्वसाधारणको दृष्टिमा केवल ‘जित’ र ‘हार’मा सीमित बनाइदिन्छ । बेलायतले संसारभर खेलको स्वाद क्रिकेटको शुरुआत गरेर चखायो अनि त्यसपछि अहिले फूटबलको प्रिमियर लीग रचाएर चखाएको तथ्य यथावत् छँदै छ । यस बाहेकका अन्य खेलकुद पनि त्यहाँ भइरहन्छन् । स्मरण रहोस्, बेलायतमा ३ प्रतिशत रोजगारी खेलकुद क्षेत्रले प्रदान गरेको छ । चर्चा जित र हारकै हुन्छ, बेलायतको अर्थतन्त्रमा खेलकुद क्षेत्रको योगदानको बहस कतै हुँदैन, अझ नेपालमा त सोचिँदा पनि सोचिँदैन ।
रूसले विश्वकप आयोजना गरी रहँदा पर्यटन क्षेत्रले एकाएक आँधी ल्याएको छ । करिब २० लाख पर्यटकको अपेक्षा गरिए पनि स्टेडियमको भरिभराउ अवस्थाले यस सङ्ख्यामा परिवर्तन भएको बुझ्न सकिन्छ । २०१४ को तथ्याङ्क हेर्ने हो भने विश्वकपको समयमा १२ लाखभन्दा बढी विदेशी पर्यटकले ब्राजिल भ्रमण गरेको त्यहाँको पर्यटन मन्त्रालयले जानकारी गराएको थियो । हुन त आयोजक राष्ट्रलाई सोहीअनुरूपको आवासको व्यवस्था मिलाउन चुनौतीपूर्ण विषय बन्न जान्छ । सोही समयको अर्को पक्ष, रोजगारको तथ्याङ्क हेर्ने हो भने ब्राजिलमा करीब १० लाख रोजगारीको अवसर सृजना भएको थियो ।
विकसित मुलुकमा भन्दा पनि विकासोन्मुख मुलुकमा यस प्रकारको खेल आयोजनाले ठूलो फड्को ल्याउन सहयोग गर्छ । यातायातदेखि सूचनाप्रविधिमा सुधारको अवसर प्रदान गर्छ । विकसित देशमै यस प्रकारको खेल आयोजना गर्दा ठूलै प्रभाव नपारे पनि विकसित मुलुकको अविकसित क्षेत्रहरूलाई भने केही राहत पुग्ने उदाहरण सन् २००८ मा सम्पन्न चिनियाँ ओलम्पिकबाट लिन सकिन्छ । करीब १४ अर्ब अमेरिकी डलर लागत लाग्ने भनिएको रूसमा सम्पन्न विश्वकपले रूसको स्वदेशीदेखि विदेशी लगानीलाई प्रभाव अवश्य पुर्याउने छ । कतारमै हुन लागेको आगामी संस्करणबाट नेपालीले कति रोजगार पाएका छन् बाट नै यस विषयमा पुष्टि हुन जान्छ ।
आर्थिक दृष्टिले खेललाई हेर्दा यो त्यस्तो माध्यम हो, जसले कुनै पनि मुलुकको विभिन्न क्षेत्रलाई ओगटेर आर्थिक क्षेत्र निर्माण गर्छ । यसले वित्तीय क्षेत्र, स्वास्थ्य क्षेत्र, पर्यटन क्षेत्र, सञ्चार क्षेत्र, निर्माण क्षेत्र, वाणिज्य व्यापार, खाद्यक्षेत्र, कपडा व्यापारलगायत अन्य विभिन्न क्षेत्र ओगटेर एक आर्थिक स्थान निर्माण गर्छ । बोष्टन पेपरले जनाएअनुरूप सन् २०१४ को विश्वकप संस्करणमा ११ अर्ब अमेरिकी डलर खर्च भए पनि ४ खर्ब अमेरिकी डलर फाइदा भएको थियो । यसमध्ये ६५ प्रतिशत टेलिभिजनको लाइभ अधिकार बेचेर भएको थियो । उक्त समयमा भ्रमण गर्ने एक विदेशी पर्यटकले औसत २५ सय अमेरिकी डलर खर्च गरेको भनी जानकारी दिइएको थियो ।
नेपालमा वर्ल्डकपले केही हदसम्म भए पनि आर्थिक रूपमा आफ्नो स्थान जमायो नै । चाहे चिसो पेय पदार्थले सोही बहानामा आफ्नो वस्तु बढी बिकाएर होस्, चाहे रेष्टुराँले झण्डा झुण्ड्याएर र खेल लाइभ देखाएर होस्, गाडी तथा इण्टरनेटदेखि टीभी विक्रेतासम्मले सकेसम्म लाभ लिए नै । त्यसबाहेक जर्सी र झण्डा विक्रेताले पनि भारी मात्रामा व्यापार गरे ! अनुमान गर्नुस्, ‘यो पोष्ट शेयर गर्नुस् र जित्नुस्’ भन्नेले पनि लाइक र चर्चा सकेसम्म बटुलेकै छ । नेपालमा खेलकुदमा हर १ वर्ष लगानी वृद्धि हुँदै गए पनि देखिने सुधार खासै महसूस गर्न पाइएको छैन । कहिले विश्वकप फूटबल आयोजना हुन्छ भनी पर्खिएका नेपाली व्यापारी अब काहिले विश्वकप क्रिकेट हुन्छ र फेरि आफ्नो व्यापार जमाउँला भनि पर्खन्छन् । तर, यहाँ स्वदेशी अवसरबारे मूल्याङ्कन गर्दैनन् । आहा गोल्ड कप होस्, सिमरा गोल्डकप होस्, विराट गोल्ड कप होस् या बुढासुब्बा गोल्डकप होस् । नेपालले आफ्नो कुनै पनि प्रतियोगिता एक सक्षम स्थानमा उभ्याउन सकेको छैन । छिमेकी मुलुक भारतले आईपीएल जस्तो भव्य खेलबाट फूटबलमा प्रवेश गरिसक्दा हामी हाम्रै ए डिभिजन फूटबललाई स्तरीय बनाउन सकिरहेका छैनौं । चीनले इङलिश प्रिमियर लिगपछिको ठूलो व्यापारिक स्थान ओगटिरहँदा हामी सन्दीप लामिछानेलाई अब्बल बनाउनसमेत सकिरहेका छैनौं ।
नेपालमा प्रशस्त अवसर छन्, हिमालको फेदमा यदि एक स्तरीय रङ्गशाला हुने हो र प्रवर्द्धन त्यहीअनुरूप गरिने हो भने त्यसको महत्त्व विश्वव्यापी बढ्ने थियो । क्रिकेट होस्, या फूटबल ! नेपालले भारत र पाकिस्तानबीचको न्यूट्रल भेन्यु बनाउने अभिभारा बोक्न सक्ने थियो अनि यही प्राकृतिक उपहारलाई अवसर बनाएर आफ्नो स्थान जमाउन सक्थ्यो । तर, कहिले अर्को साफ खेल हुन्छ र भ्रष्टाचार गर्न पाउँला भन्ने नियत लिएर बसेका नेपाली नेतृत्वलाई प्रगति गफमै गर्नु छ । रहिरहेका रङ्गशालाको स्तरोन्नतिभन्दा पनि नयाँ ठाउँमा निर्माणको प्रसङ्ग उठाएर सेलाउने नियत बढी हावी देखिन्छ । खेलकुद क्षेत्रमा एक सक्षम नेतृत्वको अभाव अवश्य रहेकै हो, जसकारण कहिले म्याच फिक्सिङ को विषय त कहिले सट्टाबाजी को विषय बेलाबखत आइरहने बुझिन्छ ।
सर्वप्रथम त खेलकुदसँग आबद्ध भौतिक संरचनाको सुधार आवश्यक छ, नियमित खेलकुद आवश्यक छ, अनि स्वदेशी अवस्था जे जस्तै भए पनि विदेशी टीमलाई आमन्त्रित गर्न आवश्यक छ । एउटा भारत र पाकिस्तानबीचको खेल नेपालले गर्न सक्यो भने मात्र पनि टीभी ब्रोडकाष्टिङ कपिराइटबाट लिन सक्ने लाभको स्वाद नेपालले पाउँथ्यो । या, एउटा आईपीएलको खेल नेपालमा आयोजना गर्न सके मात्र पनि नेपालले खेलकुदसँग आबद्ध अर्थतन्त्रको पक्ष बुझ्थ्यो ।
आयोजकले नकारात्मक अवस्था पनि सहनुपर्ने हुन्छ, जस्तो ब्राजिलमै विश्वकप आयोजना हुँदा एउटा ठूलो जमातलाई स्टेडियम बनाउन विस्थापित गर्नु परेको तथ्यदेखि मानवअधिकार उल्लङ्घन गरेर निर्माण गरिएको कतारका स्टेडियमसम्म । तापनि अर्थतन्त्रलाई समग्रमा हेरिँदा खेलकुदले एउटा ठूलो सुधार ल्याएको तथ्य बिर्सिन हुन्न र नेपालजस्तो मुलुकले आफ्नो लाभ यस क्षेत्रबाट हेर्न सक्नुपर्छ । अन्यथा, आयोजक धनी भइरहँदा, आबद्ध मुलुकहरू खेलिरहँदा, चीनले जर्सी बेचेर आफ्नो स्वार्थ पूरा गरिरहँदा, हामी नेपाली त्यही जर्सी किनेर उनीहरूको अर्थतन्त्रलाई सहयोग गरेर जित र हारमा, बाजी र झगडाबाहेक माथि कहिल्यै उभिन सक्नेछैनौं !
Asadh 28, Abhiyan
No comments:
Post a Comment