क्लीन फीडको बहस

Jul 28, 2017
Image result for advertisementनिकै समयपछि, यस वर्षबाट चाहिँ क्लीन फीड नीति लागू हुने ठूलै आश थियो । निवर्तमान अर्थमन्त्रीले आफ्नो बजेटमै यो विषय उल्लेख गरेपछि शायद आश पलाउनु स्वाभाविक नै थियो । हुनत ओली सरकारको समयमा पनि यो नीति पारित गरिएकै थियो, र १ वर्षभित्र लागू गर्ने कार्ययोजना पनि बनाइएको थियो ।
नयाँ आर्थिक वर्षको शुरुआतसँगै क्लीन फीडको परिकल्पना गरिए तापनि अन्तिम समयमा यसको कार्यान्वयन भएको पाइएन ।
नीतिमा उल्लेख भएका कतिपय कार्यहरू सम्पादन गर्न बाँकी रहेकाले तत्कालका लागि स्थगित गरिएको जनाइए तापनि यहाँ देखिएजस्तो सरलता अवश्य छैन । १५ वर्ष अगाडिदेखि नै यस विषयमा बहस शुरू भए तापनि सधैं यो केही न केही कारणले गर्दा यो विषय सङ्कटमा पर्ने देखिन्छ ।
क्लीन फीड नीति लागू मात्र गर्दा उपभोक्ताले सोझै लाभ उठाउन पाउने थिए ।  विज्ञापन जोडिएको अवस्थामा निःशुल्क च्यानल उपभोक्ताले हेर्न पाउने थिए । नेपाली विज्ञापन उद्योग आफै सक्षम र बलियो बन्ने थियो । यसले विज्ञापन उद्योगलाई उँभो लगाउने मात्र नभएर यस व्यवसायभित्रै रोजगारीको ठूलो अवसर पनि सृजना गर्ने थियो । बाहिरी मुलुकहरूमै विज्ञापन व्यवसायबाट ठूलै अंश ओगट्ने भए तापनि नेपालभित्र यसले सोही अनुपातमा बजार लिन नसकेको स्पष्ट देखिन्छ । क्लीन फीड नीति कार्यान्वयन मात्र भएको अवस्थामा पनि यसले राम्रै बजार स्थापना गर्न सकिने थियो । यसले गर्दा राजस्व वृद्धिदेखि सम्पूर्ण अर्थतन्त्रलाई लाभ गराउने हुन्थ्यो । स्थानीय भाषाको संरक्षण र प्रवर्द्धनमा पनि सोही अनुपातको भूमिका खेल्ने थियो र नेपालभित्रकै कलाको प्रवर्द्धन हुने थियो । यसले कलाकारलाई अर्को आय स्रोत हुने थियो ।
क्षणिक रूपमा केही घाटा देखिए तापनि  दीर्घकालीन रूपमा यस निर्णयले नेपाली विज्ञापनको स्तर निकै माथि लिएर जाने निश्चित थियो । तर, अन्तिम अवस्थामा शङ्काको घेरा पार भयो र फेरि उक्त निर्णय अहिले लागू नगर्ने भनी निर्देशन आयो ।Image result for advertisement association of nepal
सरसर्ती हेर्दा यो सरकारको अक्षमता देखिए तापनि, यहाँ डीटीएच, केबल अपरेटर र एड्भरटाइजिङ एजेन्सीस एशोसिएशन अफ नेपाल (आन) बीचको द्वन्द्व देखिन्छ, जहाँ आन सधैं पछि पर्दै आएको देखिन्छ । हुनत आनकै अध्यक्ष कहिले खुलेर यस विषयमा बहसमा नदेखिएका हुन्, या नगरेकै हुन्, शायद उनैलाई थाहा होला । तर, यस विषयमा आन सशक्त रूपमा अगाडि आउन सक्नुपर्ने थियो, जुन कहिले देखिएन । हालको यस निर्णयको सामान्य विरोध गरिए तापनि कुनै सशक्त योजना देखिएको छैन । जब सङ्गठित संस्था नै यस विषयमा गम्भीर हुँदैन, कुनै एक एजेन्सीको आवाज कसरी बलियो होस् ? बरु फूटबल खेलाउन र वाग्मती सरसफाइमा बढी अग्रसर रहने आनले यस्ता विषयमा आफ्नो लाचारीपन नदेखाएको भए, शायद यो विषय धेरै आगाडि अन्य दक्षिण एशियाली मुलुकसँगै टुङ्गिसक्ने थियो ।
डीटीएच र केबल अपरेटरहरूले यसको विरोध गर्नु स्वाभाविक हो । आखिर क्लीन फीड सम्भव भएमा कतिपय च्यानलले डेडिकेटेड सिग्नल नदिन पनि सक्छन् । यसले गर्दा उपभोक्तामा खर्च बढ्न सक्छ । तर, यहाँ सो क्षणिक लाभकै बहानामा आम सर्वसाधारणको पैसा तिरेर विज्ञापनरहित कार्यक्रम हेर्न पाउनुपर्ने अधिकार वञ्चित गर्न मिल्दैन थियो । प्रसङ्ग शायद यहाँ डीटीएच र केबल अपरेटरको मात्रै नभएर, भारतीय टेलीभिजन वितरकहरूले नेपालकै लागि भनेर छुट्टै फीड सामग्री नबनाउने भनेको पक्षलाई नै प्रमुख आधार मान्न मिल्छ । अझ स्पष्ट त, इण्डियन ब्रोडकाष्टिङ फेडेरेशनले निर्णय फिर्ता लिन पटकपटक आग्रह गरेको सबै नेपालीले बुझेकै थिए । शङ्काको घेरा त्यहँबाट शुरू भएको थियो, जुन गत असार मसान्तमा छताछुल्ल भयो । आखिर, हप्काएर टेर्ने कोही छ भने, उसलाई पूजा किन गरिरहनु ? भारतले त्यही पद्धति फेरि अपनायो, र नेपाल फेरि मूकदर्शक बन्न बाध्य भयो ।
Image result for prisoned bird
आन र बाहिरी शक्तिलाई दोष लगाउँदै गर्दा, नेपाल सरकारलाई चोखो राख्न मिल्दैन । आफै नीति निर्माणमा लाग्ने र आफै त्यसको कार्यान्वयनमा चुकेको देख्दा सरकारको कार्यशैलीमै प्रश्न उठ्नु स्वाभाविक हो । अझ लाचारीपन भनी दोष लगाउँदासमेत फरक नपर्ने यस परिवेशमा सरकार चोखो अवश्य छैन ।
क्लीन फीड विवादको विषय नै होइन, यो त अधिकारसरह हो । पैसा तिरीतिरी विदेशी च्यानलमा उनीहरूको प्रचार हेर्नुपर्ने कस्तो बाध्यात्मक परिस्थित हो ? यस विषयमा आम जनताले मण्डलामा अवश्य प्रदर्शन गर्ने छैनन्, यस कारण बलियो बोली र योजना आनबाट नै आउनुपर्ने हुन्छ । आनले यस्तो परिस्थितिको परिकल्पना धेरै अगाडि गरिसक्नुपर्ने थियो र सोही समयमा छलफल गरेर आफू कसरी प्रस्तुत हुने पनि निर्णय गरिसक्नुपर्ने थियो । तर, आनले साधारण किसिमले विरोध मात्र गरेर यस समस्याको हल अवश्य हुँदैन । नत्र २००९ मै यस विषयको टुङ्गो लागिसक्नुपर्ने थियो । आन्दोलनकै घोषणा गर्नुपर्ने हुन्थ्यो, आनले यस विषयमा । तर, उसको मौनता आफैमा हात्तीको देखाउने दाँत पो हो कि जस्तो बुझिन्छ ।
यस अर्थमा आनले आफै यस कदमको विरोध गर्न आवश्यक छ । आनले आयोजना गर्ने कृति अवार्ड तब मात्र भव्य हुने थियो, जब क्लीन फीडको सार्थकता हुने थियो ।
आम सञ्चारले पनि यस्तो अवस्थामा के सही र के गलत भनेर छुट्ट्याउन आवश्यक छ र बहस चलाउन आवश्यक छ । टिभी अन्तरवार्तादेखि यो विषयमा जनतालाई बुझाउन सञ्चारमाध्यमले महत्त्वपूर्ण भूमिका खेल्न आवश्यक छ । अन्यथा जनताले अहिलेसम्म केही बुझेकै छैनन् र उनीहरूले के सही के गलत पनि छुट्ट्याउन सक्दैन्न ।
छिमेकीलाई औंला ठड्याउनुभन्दा अगाडि, हामीले हाम्रो अवस्था बुझ्नु आवश्यक छ । सधैं छिमेकीको इशारामा चल्ने परिपाटीको विरोधमा अझै पनि हामी उभिन सकिरहेको छैनौं । न त कुनै राष्ट्रवादी राजनीतिक पार्टीले यो विषय टुङ्ग्याएका थिए । अहिलेको सरकार त आफै तयार छैनौं भन्नेमा अडिग देखिन्छ । स्वाभिमानको विषयमा हामी एकै ठाउँ उभिन आवश्यक छ र राष्ट्र हितको विषयमा चर्चा गर्न पनि उत्तिकै महत्त्वपूर्ण छ ।
होला, नून र इन्धनमा हामी भारतसँग निर्भर छौं । तर, यस्तो प्राविधिक विषयमा पनि झुक्दा, नेपाललाई वर्षौंदेखि हुँदै आएको घाटा सोही आकारमा बढिरहेको छ । यो विषयमा सरकार नै प्रमुख खलनायक भई आएको छ, जो चाहेमा सहजै नायक हुन पनि सक्छ ।

Image result for policiesजब अधिकार, नीति र नियमको प्रसङ्ग आउँछ, कसैले आफ्नो स्वार्थका कारण आम सर्वसाधारणलाई सधैं आँखा छोपेर राख्न मिल्दैन, क्षणिक लाभभन्दा जनहितको मूल्याङ्कन गर्नुपर्ने हुन्छ । अनि  त्यहाँ जोडिएको हुन्छ, अर्को विषय, कार्यान्वयनको । अनि त्यसैमा चुक्दा अक्षमताको उदाहरण स्पष्ट देखिन्छ ।
अन्यायमा पर्ने समयमा बोल्ने अदालतलाई बोलाउन, यस विषयलाई अदालतसम्म पुर्‍याएर होस् या आन्दोलनको घोषणा गरेर होस्, क्लीन फीड लागू गर्न आवश्यक छ । हुनत ढिलो चाँडो यो लागू भएरै छाड्छ । तर, कतिन्जेल सर्वसाधारणलाई अन्धकारमा राख्ने हो ? यो विषयमा सम्बन्धित सबै निकाय गम्भीर हुन आवश्यक छ ।

आर्थिक अभियानमा २०७४-०४-५ मा प्रकाशित  
http://www.abhiyan.com.np/new/Articles/view/101649

No comments: